आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 710
    SHARES

लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ । सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय नै संकटमा पर्दै गएको हो ।

पहिलो चरणको लकडाउनको समयमा गाईका लागि आवश्यक दाना, भुसा, पराल लगायतको मुस्किलले जोहो गरेका गाईपालक कृषक लकडाउनको समय लम्बिएपछि मर्कामा परेका हुन् ।

लकडाउन थपिएसंगै दाना, भुसा, पराल लगायत आपुर्तिमा समस्या भएपछि मुलुकभरका गाईपालन व्यवसाय संकटमा परेका हुन् । काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा पनि गाईलाई खुवाउने दाना, भुसा, पराल पाईन छाडेपछि किसान को आक्रोश बढ्दै गएको छ । उनीहरु गाईनै फुकाएर छोड्ने स्थितिमा पुगेका छन् ।

लकडाउनले दाना पराल ल्याउन नपाएपछि गाईपालकको अगाडि गाईलाई बचाईराख्ने र उत्पादित दुधको व्यवस्थापन मुख्य समस्याको विषय बनेका छन् ।

खानाको कमिले गाईको स्वास्थ्यमा प्रतिकुल असर पर्नुको साथै दुध उत्पादनमा पनि कमि आएको छ भने उत्पादित दुधको व्यवस्थापन पनि हुन सकेको छैन ।

निलबाराही मिश्रीत कृषक समुहका अध्यक्ष एवं गाईपालक किसान ताराबहादुर भण्डारी र अर्का गाईपालक किसान गाईलाई खुवाउने आहारको अभावको स्थिति आएकाले आफूहरु गाइ फुकाएर छोड्न बाध्य हुने अवस्थामा पुगेको बताए ।

गाईपालक कृषक श्रेष्ठले भने “नेपाल सरकारले केही गरेर मान्छेलाई पाले जस्तै गाईबस्तु पनि पाल्नुपर्छ बचाउनुपर्छ है भने ठिकै हो । होइन भने फुकाउने छोड्ने भन्दा विकल्प छैन हाम्रो ।

भण्डारीको गाई फाममा अहिले २० वटा गाई छन् । दाना अभावमा गाईको खानाको मात्रा घटाउँदा दुध उत्पादनमा पनि कमि आएको छ । त्यही दुधको पनि बजार व्यवस्थापनको समस्या भोग्नुपर्दा भण्डारी चिन्तित छन् । निलबाराही मिश्रीत कृषक समुहमा ८० जना व्यवसायीक गाईपालक कृषक आवद्ध छन् । उनीहरुको फार्ममा झण्डै ३ हजार गाई छन् ।

यो समुहमा आवद्ध भएका गाईपालकहरुले मात्रै दैनिक १६ हजार लिटर दुध उत्पादन गर्दे आएका थिए । अहिले दाना र आवश्यक भुसाको अभावमा उपादन घटेर ४ हजार लिटरमा झरेको छ । त्यो ४ हजार लिटर दुधको पनि व्यवस्थापन गर्न नसक्दा कृषक थप मर्कामा परेका हुन् । सरकारले तत्काल कुनै निर्णय नलिने हो भने गाईपालक किसान व्यवसायबाट नै पलायन हुनसक्ने अबस्था आउने गाईपालक किसान भण्डारीले बताए ।

उनले भने “ लकडाउन लम्बियो भने धेरै प्रतिशत मान्छेहरु यो व्यवसाय छोडेर भाग्नुपर्ने स्थिति छ । बैकको लोनले डुब्ने स्थिति छ । घर घडेरी, जग्गा जाने स्थिति छ । व्यवसाय नै चौपट हुन्छ । सरकारले बेलैमा ध्यान देओस् ।”

अन्य व्यवसाय जस्तो सटर बन्द गरेर हिड्न मिल्ने व्यवसाय नभएकाले गाईलाई बचाई राख्नुको साथै गाईपालक कृषकको लगानी डुब्न नदिन सरकारले दाना र दुधको व्यवस्थापनको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए । दाना अभावमा गाईलाई आधा पेट खुवाएर राख्दा त्यसले दिर्घकालिन उत्पादनमा असर पर्ने भण्डारीले बताए ।

अर्का कृषक रविन शर्मा लकडाउनको समयमा सरकारले सबैलाई राहतको व्यवस्था गरेपनि गाईपालकका समस्या सम्बोधन नगरेको गुनासो गरे । उनी गाईलाई खुवाउने दाना र उत्पादित दुध व्यवस्थापनको प्रबन्ध मिलाईदिए सरकारसग अरु आशा र अपेक्षा नरहेको बताए ।

उनले भने “दाना, भूसा केही नपाउँदा गाई बचाउन गाहे भईराखेको छ । सरकारे हामी किसानहरुलाई हेरिदिनुपर्यो । सहज तरिकाले हेरिदिनुपर्यो । हाम्रो व्यवसाय नडुबोस् । दाना, पीठो , चोकर चाही ल्याउन पाईयोस् । खुवाउन पाईयोस् । त्यत्तिचाही खुल्ला गरिदिए हुन्थ्यो । हाम्रो व्यवसायलाई रोकावट नगरि निरन्तर गर्न पाए हुन्थ्यो ।”

काठमाण्डौ उपत्यकामा झण्डै ५ लाख गाई रहेको अनुमान गरिन्छ । गाईपालकहरु लकडाउनको समय थपिदै जाने क्रम संगै गाईको आहारमा समस्या हुदा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा मात्रै सयौ गाई खान नपाएर मर्ने अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले गाईलाई आवश्यक पर्ने दाना, भुसा र परालको सहज आपुर्तिको समयमै व्यवस्था गर्नुको साथै उत्पादितको दुध व्यवस्थापनको प्रबन्ध मिलाई गाईपालक कृषकका लागि पनि सरकारले राहत प्याकेज घोषणा गर्न माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)