प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशालामा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुन लागेको हो ।
हाल सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा २५ र निजी संस्थासँग रहेका १५ रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) मेशिनलाई ठाउँठाउँमा सेट गरी परीक्षणको दायरा बढाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले जानकारी दिनुभयो ।
धनगढी, पोखरा र नेपालगञ्जमा ठूला पिसिआर मेशिन जडान भइरहेका छन् । सरकारको निर्णयअनुसार काठमाडौँबाहिरका १० ठाउँमा परीक्षण सञ्चालन भइरहेको र ती स्थानबाहेक थप नयाँ ठाउँमा मेशिन सेटअप गर्न स्वास्थ्य मन्त्रालयको प्याथोलोजी सल्लाहकार समितिले अध्ययन गरिरहेको छ ।
सो समितिले ल्याबहरुको स्थापना, प्रोटोकल निर्माण, जनशक्ति व्यवस्थापन र सामानको गुणस्तरबारे नियमित अध्ययन र परामर्श गर्दै आएको छ । सो समितिका सदस्य एवं नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले नेपालभित्रै रहेका र प्रयोगमा नआएका पिसिआर मेशिनलाई प्रयोग गराउँदै परीक्षणको दायरा बढाउन सकिने स्पष्ट भएको बताउनुभयो ।
हाल चालू पिसिआरमा स्वाब परीक्षण र ¥यापिड डाइग्नोष्टिक किटबाट रगत परीक्षण दुवै विधिबाट परीक्षणको दायरा बढाउन लागिएको हो । मन्त्रालयले स्वाबको नमूना सङ्कलन गरी ल्याउन १० हजार भाइरल ट्रान्सपोर्ट मेडियम (भिटिएम) विभिन्न जिल्लामा पठाइसकेको छ ।।
