काठमाडौँ – नेपालीहरूको महान पर्व बडादशैँको मुख्य दिन मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र पहेँलो जमरा ग्रहण गरेसँगै काठमाडौं उपत्यकाका सडकहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा बढेको छ ।
घटस्थापनादेखि नै सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकहरूमा आफन्तकहाँ टीका र आशीर्वाद थाप्न जानेहरूको आवागमन दिउँसोदेखि निकै बाक्लिएको हो ।
नेपालीहरूको महान चाड बडादशैँअन्तर्गत विजयादशमीका दिन शुभसाइत तथा दिनभर मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ । बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि आफ्ना नजिकका नातागोता तथा आफन्तकहाँ प्रसाद थाप्न पुग्ने सर्वसाधारणका कारण उपत्यकाका सडकहरू बिहानको तुलनामा दिउँसो निकै व्यस्त देखिएका छन् ।
घटस्थापनापछि लाखौँको संख्यामा नागरिकहरू दशैँ मनाउन गाउँघर फर्किएका कारण काठमाडौं उपत्यका केही दिनयता शान्त र सुनसानजस्तै बनेको थियो । तर विजयादशमीको टीका शुरु भएसँगै चक्रपथसहित भित्री सडकहरूमा समेत निजी तथा सार्वजनिक सवारीसाधनको चाप बढेको छ ।
कोटेश्वर, नयाँ बानेश्वर, कलङ्की, चाबहिल, महाराजगञ्ज लगायतका प्रमुख चोकहरूमा दशैँको नयाँ पहिरनमा सजिएर टीका लगाउन हिँडेका यात्रुहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ । दशैँको मुख्य दिनमा सार्वजनिक सवारीसाधन न्युन संख्यामा मात्र सञ्चालनमा आउँदा आवतजावतमा सर्वसाधारणले केही सास्ती व्यहोर्नुपरेको छ ।
सार्वजनिक सवारीको विकल्पका रूपमा ट्याक्सी, निजी कार तथा मोटरसाइकलको प्रयोग अत्यधिक बढेको पाइएको छ । यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पर्वका बेला हुनसक्ने दुर्घटना न्यूनीकरण तथा आवागमन सहज बनाउन विभिन्न रणनीतिक स्थानहरूमा ट्राफिक जाँच र जनशक्ति परिचालनलाई तिब्रता दिएको जनाएको छ।्ल्लविजयादशमीका दिनबाट शुरु हुने टीका तथा आशीर्वाद ग्रहणको यो श्रृङ्खला कोजाग्रत पूर्णिमाका दिनसम्म निरन्तर चल्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ । टाढा रहेका मान्यजन तथा आफन्तकहाँ पुगेर आशीर्वाद लिने चलन कायमै रहेकाले आगामी केही दिनसम्म उपत्यकाभित्र तथा जिल्लाहरूबीचको आवतजावत थप बढ्ने अनुमान गरिएको छ । –न्युज एजेन्सी नेपाल
