चितवन, चितवन र नवलपरासी आवतजावत गर्नेहरुले स्वचालित स्यानीटाइजर मेसिनमा अनिवार्य बस्नुपर्ने भएको छ । नारायणी पुलको नारायणगढतर्फको पुलचोकमा स्वचालित सो मेसिन उपकरण जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको हो ।
चितवनतर्फ आउने र नवलपरासीतर्फ जाने जो कोहीले पुलचोकमा रहेको वाक थ्रू स्वचालित स्यानिटाइजिङ च्याम्बरमा अनिवार्य रुपमा छिर्नुपर्नेछ । नेपाली युवा उद्योगी मञ्च चितवनले सो च्याम्बर सञ्चालनमा ल्याएको हो ।
कोभिड–१९ को सङ्क्रमण बाहिरबाट आएकाका कारण जिल्लामा नहोस् भन्ने उद्देश्यले यो च्याम्बर सञ्चालन गरिएको हो ।
पैदल आएका वा सवारीमा आएकालाई सो च्याम्बरमा राखेर १० सेकेन्ड घुमेपछि शरीर पूरै स्यानिटाइजिङ हुने छ ।
मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार रु एक लाख ५० हजारको लागतमा निर्माण गरिएको सो च्याम्बरमा उच्चस्तरीय कीटनाशक रसायन प्रयोग गरिएको छ ।
त्यसले मानिसलाई पाँच घण्टासम्म सुरक्षित राख्ने उनले जानकारी दिए । युवा उद्यमी राजेश गौतमले एकपटकमा चारजनासम्मको स्यानिटाइजिङ गर्न सकिने बताए । मञ्चले चैत २३ गतेदेखि लकडाउनको समयमा पैदल आएका यात्रीहरुलाई पुलचोकमा नै खाना खुवाउँदै आएको छ ।
