शुक्रबार, बैशाख २१, २०८१

फोहर व्यवस्थापनमा सहयोग गरिदिन सिसडोलवासीसँग कामपाको अनुरोध


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 241
    SHARES

काठमाडौँ, १७ चैत्र
फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समय–समयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो । स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन् । विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो ।

विभागका प्रमुख हरिकुमार श्रेष्ठले विज्ञप्तिमार्फत भन्नुभएको छ, “स्थानीय बासिन्दाको माग सम्बन्धमा कामपा, नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सकारात्मक अपेक्षा छ ।” अहिले साइटमा फोहर लैजानसक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहर वर्गीकरण गर्न विभागले अनुरोध गरेको छ । नकुहिनेलाई घरमै व्यवस्थापन गर्न र कुहिने फोहरलाई सङ्कलन गर्ने गाडी आएपछि पठाउन आग्रह कामपाले गरेको छ ।

फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने माग राखेर फोहर लैजान अवरोध गरेको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दैै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन् ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हँुदै आएको छ । सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर लगिने गरिएको छ । दीर्घकालीन ल्याण्डफिल निर्माणका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बन्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम सम्पन्न भएको छैन ।

सिसडोलवासीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिरहेको र यसलाई सकारात्मक रूपमा लिएर सहयोग हुने अपेक्षा कामपाको छ । यदि निरन्तर अवरोध भयो भने फोहर विसर्जन कार्यका लागि थप कदम चाल्ने कामपाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }