
काठमाडौं । नेपाल टेलिकमले समयमा नै फाइभजी सेवा परीक्षण नगरेको भन्दै नियामक निकाय असन्तुष्ट व्यक्त गरेको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सार्वजनिकरुपमा नै फाइभजी सेवा परीक्षण नगरेकोमा टेलिकम प्रति असन्तुष्टि व्यक्त गरे।
नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा उनले फाइभजी सञ्चालनमा नल्याएको भन्दै प्रबन्ध निर्देशकले फाइभी शुरू गर्ने अपेक्षा गरेको बताएको जानकारी दिए।
“सरकारले फाइभजीका लागि फ्रिक्वेन्सी निशुल्क दिएको छ। २ ओटा बिटिएस राखेर प्राविधिक परीक्षण गर्न खोजेको जस्तो देखिन्छ,” अध्यक्ष खनालले भने, “हामीले रिङरोड भित्रका उपभोक्ताले ५जी प्रयोग गरे उहाँहरूको अनुभव बुझ्न खोजेका हौं।”
सरकारले टेलिकमलाई फाइभजी सेवाको परीक्षण गर्नका लागि २६०० मेगाहर्ज ब्याण्डमा निशुल्क फ्रिक्वेन्सी उपलब्ध गराएको छ। कम्पनीले आजै कार्यक्रममा ५जी सेवाको परीक्षण शुरु गरेको घोषणा गर्दैछ।