
संखुवासभा । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तवले खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको क्याम्पस भवनको उद्घाटन गरेका छन् । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो नवनिर्मित क्याम्पस भवनको बुधवार मन्त्री साउद र राजदूत श्रीवस्तावले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
हिमालय मिडिल स्कुलको रुपमा सन् १९४९ मा हिमालय किरण पब्लिक क्याम्पसको स्थापना भएको हो । सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न यस विद्यालयको स्तरोन्नति गरी हिमालय किरण पब्लिक क्याम्पस नाम राखिएको थियो । यस क्याम्पसमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा ६० प्रतिशत छात्रा रहेका छन् । हाल यस क्याम्पसमा स्नातक तहमा व्यवस्थापन र शिक्षा र स्नातकोत्तर तहमा शिक्षा विषय अध्यापन गराइन्छ ।
सन् २००३ यता भारतले नेपालमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये कोशी प्रदेशमा विभिन्न क्षेत्रका गरी ८४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेका छन् ।
यसका अतिरिक्त भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसर पारेर हालसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकको छ ।
भारत सरकारले हालसम्म संखुवासभा जिल्लालाई १३ वटा एम्बुलेन्स र गत जुलाईमा यस क्याम्पसलाई प्राप्त स्कुलबस समेत गरी ३ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।
कार्यक्रममा संखुवासभाका राजनीतिक नेता, समाजसेवी, नेपाल सरकारका अधिकारी, क्याम्पसका प्रतिनिधि र स्थानीय समुदायको उपस्थिति थियो ।