आइतवार, कार्तिक ९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेसनल आइसिटी स्कलरसिप-  २०८१’ को आवेदन खुला


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ९, २०८१
  • 513
    SHARES

काठमाडौँ –  नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘नेसनल आइसिटी स्कलरसिप( २०८१’ का लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाका लागि विगत सात वर्षदेखि वितरण हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले औपचारिक उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले यस छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल युगमा सफलता हासिल गर्न सिप प्रदान गर्दै नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पुर्‍याउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधिको निरन्तर परिवर्तनशील दुनियाँमा नवीनतम प्रविधिहरू सिक्दै जानु आवश्यक रहेकोमा जोड दिँदै उहाँले भन्नुभयो, “सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पार्नका लागि यो छात्रवृत्ति कार्यक्रम प्रभावकारी छ । यसलाई स्नातकोत्तर तहसम्म विस्तार गर्न सके, अनुसन्धान र उद्योग तयारी क्षमता अझ बलियो हुनेछ ।”

क्यान महासङ्घले मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको क्यान महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रममा यस वर्ष पनि ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।

‘नेसनल आइसिटी स्कलरसिप’ ले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीलाई सूचना प्रविधि क्षेत्रमा करियर बनाउन अवसर प्रदान गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो । यस्ता कार्यक्रमले कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

देशका सातै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई। पङ्कज जालानले बताउनुभयो छ । साथै, फिमेल मेरिट आइसिटी स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट चार जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइनेछ भने आइसिटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जना गरी २१ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

छात्रवृत्ति कार्यक्रमको सफल कार्यान्वयनले नेपालभित्र रहेको डिजिटल विभाजन कम गर्ने तथा अन्य संस्थाहरूलाई सार्वजनिक(निजी साझेदारीमा यस्ता पहल गर्न प्रेरित गर्ने अध्यक्ष ई। जालानको विश्वास छ । सूचना प्रविधिको अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठुलो अवसरको रूपमा रहेको नेसनल आइसिटी स्कलरसिप – २०८१ु ले डिजिटल नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान दिने उहाँको विश्वास छ ।

क्यान महासङ्घ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबिच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले कुल दुई करोड १३ लाख एक हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन (एपीयू) को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बीएससी आइटी (BSc. IT) अध्ययन गर्न पाउनेछन् ।
छात्रवृत्तिका लागि नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।

आवेदन क्यान महासङ्घको वेबसाइट (scholarship.can.org.np) वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट (www.lbef.org) मार्फत २०८१ फागुन २५ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, एउटा फोटो, नागरिकता वा जन्म दर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिस पत्र संलग्न गर्नुपर्नेछ ।

छात्रवृत्तिलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि क्यान महासङ्घले निवर्तमान अध्यक्ष रणजीत पोदारको संयोजकत्वमा छात्रवृत्ति छनोट समिति गठन गरेको छ, जसमा सह(संयोजक उपाध्यक्ष चिरञ्जीवी अधिकारी, हर्क सेटी, शेखरनाथ दुलाल, सचिव सरिता न्यौपाने, केन्द्रीय सदस्य राजु कट्टेल, दीपेन्द्र पौडेल र ओमकार बस्नेत तथा लेखा समिति सदस्य द्वय सन्तोष ढुङ्गाना सदस्य रहनु भएको छ ।
छात्रवृत्ति संयोजक एवं क्यान महासङ्घका निवर्तमान अध्यक्ष रणजीत पोदारले विद्यार्थीहरूलाई व्यावहारिक सीप हासिल गर्न उद्योगसँग सहकार्य गरिएको बताउनुभयो । इन्टर्नसिप, परियोजना तथा उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीहरूलाई रोजगारीका लागि तयार पार्ने आफूहरू लागिपरेको उहाँले उल्लेख गर्नुभयो ।
छात्रवृत्ति सह(संयोजक एवं महासङ्घका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालमै प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पारेर देशलाई सूचना प्रविधिको हब बनाउने लक्ष्य रहेको बताउनुभयो । देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अवसर दिएर नेपालमा प्रविधि नवप्रवर्तनको वातावरण बनाउन यो छात्रवृत्ति प्रभावकारी हुने उहाँको धारणा छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आइटी विज्ञ डा। शालिग्राम पराजुलीले यो छात्रवृत्ति कार्यक्रमले ग्रामीण तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई अवसर दिने बताउँदै  नव प्रवर्तनशील प्रतिभा निखार्न र सूचना प्रविधि क्षेत्रको जनशक्ति अभाव पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
क्यान महासघका महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधिको अध्ययन र दक्ष जनशक्ति उत्पादनलाई प्रवर्द्धन गर्न यस्ता छात्रवृत्तिहरू महत्त्वपूर्ण हुने विचार राख्नुभयो । डिजिटल नेपाल निर्माणको लक्ष्य हासिल गर्नका लागि दक्ष जनशक्ति तयार पार्नु आवश्यक रहेकाले यो छात्रवृत्ति कार्यक्रम त्यस दिशामा एक महत्त्वपूर्ण कदम हुने उहाँले उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)