आयोजित कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, नमोबद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा तथा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय स्तर आयोजना कार्यान्वयन इकाई (सीएलपीआईयू) का परियोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा नेपाल सरकारका अधिकारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको पनि सहभागिता रहेको थियो ।
करिब ५ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगमा निर्माण हुन लागेको हो । निर्माण हुने भवनमा दुई ब्लक रहनेछन्, जसमा सात वटा कक्षाकोठा, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष तथा छुट्टाछुट्टै सरसफाइ सुविधा रहने जनाइएको छ ।
कार्यक्रममा परियोजना निर्देशक भट्टराईले नेपालमा शैक्षिक पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले प्रदान गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोगको प्रशंसा गरे ।
नमोबद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै गुणस्तरीय सिकाइ वातावरण निर्माणका लागि विद्यालय पूर्वाधारको स्तरोन्नति आवश्यक रहेको बताए ।

भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले भारत सरकारको अनुदान सहयोगमा नेपालमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाबारे जानकारी दिँदै उक्त परियोजनाले नेपाल–भारतबिचको दीर्घकालीन विकास साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

भारतीय दूतावासका अनुसार यो परियोजनाले भूकम्पपछिको पुनर्निर्माण तथा नेपालको शैक्षिक पूर्वाधार सुदृढीकरण गर्ने नेपाल सरकारको प्रयासलाई समेत सहयोग पुर्याउनेछ ।
