काठमाडौँ – यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन ख्यातिप्राप्त अर्थशास्त्रीलाई प्रदान गरिएको छ ।
द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अमेरिकाका दुई र बेलायतका एक अर्थशास्त्रीलाई सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।
पुरस्कार प्राप्त गर्नेमा अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर, ब्राउन युनिभर्सिटीका पिटर होविट, र बेलायतको द लन्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगियों रहेका छन् ।
एकेडेमीका अनुसार उनीहरूलाई ‘नवप्रवर्तनमार्फत सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरेको’ योगदानका लागि नोबेल पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको आधा भाग जोएल मोकिरलाई प्रविधिगत प्रगति र त्यसका माध्यमबाट दिगो आर्थिक वृद्धिका पूर्वसर्त पहिचान गरेको योगदानका लागि दिइनेछ। बाँकी आधा भाग फिलिप अगियों र पिटर होविटलाई संयुक्त रूपमा ‘रचनात्मक विनाशमार्फत दिगो आर्थिक वृद्धिको सिद्धान्त विकास गरेको’ योगदानका लागि प्रदान गरिनेछ ।
नोबेल समितिका अनुसार, उनीहरूको शोधकार्यले दीर्घकालीन आर्थिक विकास कसरी नवप्रवर्तन, प्रतिस्पर्धा र प्रविधिको सुधारसँग जोडिएको हुन्छ भन्ने विषयमा गहिरो दृष्टिकोण प्रदान गरेको छ ।

