सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

 महेश्वर पन्तको ‘धर्ती मुनिका तारा’ सार्वजनिक


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २, २०८२
  • 418
    SHARES

काठमाडौँ –  स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित कथासङ्ग्रह “धर्ती मुनिका तारा” एक विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ ।

साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृतिको लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त तत्त्‍वावधान सम्पन्न कार्यक्रममार्फत गरिएको हो ।

 

 

कार्यक्रमको सभापति त्व प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पारिश्वर तिमिल्सिनाले गरेका थिए भने अतिथिहरूलाई अनेसास का अध्यक्ष राजेन्द्र के.सी. ले स्वागत मन्तव्यद्वारा अभिवादन गरेका थिए ।

उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए । सभापति पारिश्वर तिमिल्सिना, विशेष अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तथा विशेष वक्ताहरू प्रा.डा. गोविन्दप्रसाद कार्की, प्रा.डा. रामप्रसाद दाहाल, सन्ध्या पहाडी, स्रष्टा महेश्वर पन्त, राजेन्द्र के.सी., सम्पादक रमेश दाहाल र राष्ट्रका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभ देव घिमिरे लगायत मञ्चन व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

सोही अवसरमा अनेसास नेपाल च्याप्टर ले स्रष्टा महेश्वर पन्तलाई खादा, माला तथा दोसल्लासहित “स्रष्टा प्रज्ञा सम्मान–२०८२” प्रदान गरी सम्मानित गरेको थियो ।

कार्यक्रममा विशेष वक्ता सन्ध्या पहाडीले उक्त कथासङ्ग्रहमा अन्तर्निहित नारीसम्बन्धी संवेदनशील विषयवस्तुहरूको विवेचनात्मक चर्चा गरेकी थिइन् भने प्रा.डा. गोविन्दप्रसाद कार्कीले कृतिको संरचना, विषयवस्तु तथा साहित्यिक महत्त्वमाथि विस्तृत टिप्पणी प्रस्तुत गरेका थिए । त्यसैगरी प्रा.डा. रामप्रसाद दाहालले कथाभित्र निहित अन्त्य, सहानुभूतिको प्रभाव र पाठकमा पर्ने साहित्यिक प्रभावबारे गम्भीर विश्लेषण गरेका थिए ।

स्वयं स्रष्टा महेश्वर पन्तले कथा लेखनका प्रेरणा–स्रोत, विषयवस्तुको चयन तथा पात्रहरूसँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव साझा गरेका थिए । पन्तका “मुन्द्री”, “नबोल्नेहरू”, “फुर्लुङ”, “बौलाएको डायरी” जस्ता कथा तथा उपन्याससहित आधा दर्जनभन्दा बढी कृतिहरू पाठकमा लोकप्रिय रहँदै आएका छन् र उनी विभिन्न संघसंस्थाबाट सम्मानित तथा पुरस्कृत समेत भइसकेका छन् ।

कार्यक्रममा सासका अध्यक्ष राधेश्याम लेकाली ले स्रष्टा महेश्वर पन्त तथा उहाँका कृतिहरूको निरन्तर सफलताको कामना व्यक्त गरे । त्यसैगरी साहित्यकार मदनराज थापा तथा अनेसास हवाई च्याप्टर अध्यक्ष अमृता स्मृति लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्पादक रमेश दाहालले आफ्नो सम्पादकीय मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि भूपाल राईको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए ।

प्रमुख अतिथि राईले स्रष्टा महेश्वर पन्तको साहित्यिक व्यक्तित्वको प्रशंसा गर्दै आफू अमेरिका जाँदाको बेला पन्तबाट प्राप्त आत्मीय सत्कारको स्मरणसहित कृति “धर्ती मुनिका तारा”को महत्त्वबारे विचार व्यक्त गरे ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष गजब कुमारी तिमिल्सिना, पारिश्वर तिमिल्सिना, राजेन्द्र केसीद्वारा सम्पादक रमेश दाहाल,विशेष वक्ताहरू प्रा.डा. गोविन्दप्रसाद कार्की, प्रा.डा. रामप्रसाद दाहाल, सन्ध्या पहाडी र प्रमुख अतिथि माननीय कुलपति भूपाल राईलाई स्मृति चिह्न प्रदान गरिएको थियो ।

साहित्यकार ऋषभ देव घिमिरे द्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको अन्त्यमा सभापति पारिश्वर तिमिल्सिनाले लोकार्पित कृतिभित्र समेटिएका कथाका विषयवस्तु र त्यसको साहित्यिक मूल्यबारे मन्तव्य व्यक्त गर्दै कार्यक्रम विसर्जन गरेका थिए ।

जिएचपी तिमिल्सिना फाउण्डेसनको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार, संगीतकार सन्तोष श्रेष्ठ, डा. बुन दाहाल, मुक्तकका पार्वती भट्ट, अनेसास गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र के.सी. ‘देवु’ साहित्यकार राधा कार्की दुलाल, माननीय पूर्वन्यायाधीश शेषराज सिवाकोटी, साहित्यकार रामप्रसाद पन्त, शोभा भक्त पन्त, खेम शर्मा पौडेल, घनश्याम पाण्डे, संगीतकार नरहरि प्रेमी, कवि गीता कार्की, जगदीश तिमिल्सिना, ओमकार तिमल्सिनालगायतका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित साहित्य प्रेमीहरूको बाक्लो सहभागिताले सभाहल खचाखच भरिएको थियो ।

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रकाशित यस कृतिको वितरक कालिन्चोक बुक ब्याकस्ट्रोकमा, प्रदर्शनी मार्ग रहेको छ भने सबै पुस्तक पसलबाट तथा अनलाइन पुस्तक पसलहरूबाट पनि पुस्तक पाइने कुरा वितरकले बताएका छन् । बिक्रीबाट सङ्कलित रकम प्रतिष्ठानले नेपाली भाषा, साहित्यको प्रवर्द्धन तथा सामाजिक विकासमा प्रयोग गर्ने कुरा स्रष्टा महेश्वर पन्तले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)