शनिबार, कार्तिक १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गाउँ रित्तियो…( कविता )


  • प्रवीण भट्टराई, टेक्सास , अमेरिका
  • शनिबार, कार्तिक १, २०८३
  • 22
    SHARES

गाउँ रित्तियो…

गाउँ रित्तियो भन्न सजिलो छ
तर सत्य यति मात्र होइन
हामी आँखा चिम्लेर सहर पस्यौँ
गाउँ भने आँखा खोलेरै बसिरह्यो
हेरिरह्यो
कुरिरह्यो
र बिस्तारै रित्तिँदै गयो।

बिहान उस्तै छ
तर उज्यालो पर्खिने मान्छे कम छन्
कुखुराको बाससँगै उठ्ने आँगन छैन
न दूध दुहुने हतार
न ओखलमा धान कुटेको आवाज
न खेतबारीको चिन्ता
न नुनको भाउ सोध्ने फुर्सद।

पाखामा मकै रोपिँदैन
माटो अझै उस्तै छ
तर हातहरू टाढिएका सन्
मनहरू थाकेका छन्।
बिउ जोगाउने मान्छे छैनन्
माया रोप्ने समय छैन
सायद त्यसैले
गाउँ रित्तिएको छ।

चौतारी अझै छ
त्यही पुरानो बरको रूख
त्यही चिसो छहारी
तर गफ गर्ने मान्छे छैनन्।
मुखिया बुबाको हुक्काको धुवाँसँगै
गफ तात्थ्यो
गाली चल्थ्यो
बहस हुन्थ्यो
सपना देखिन्थ्यो।

आज त्यही चौतारीमा
क्यामेरा खुल्छ
सेल्फी खिचिन्छ
तस्बिर पोस्ट हुन्छ
तर एउटा प्रश्न हराउँछ
हाम्रो समयको विचार कहाँ गयोरु

घाम अझै लाग्छ गाउँमा
तर कहिलेकाहीँ लाग्छ
त्यो घाम पनि सहरतिरै ढल्किएको छ।
गाउँको आकाशमा
फाटेको उज्यालो मात्र बाँकी छ।
त्यही उज्यालोमा
म आफ्नो बाल्यकाल खोज्छु
झरनाको पानीले
कहिल्यै चुमेका ती गाला
अब सम्झनामा मात्र भिज्छन्।

पँधेरोको बाटो उस्तै होला
तर गाग्री घिस्रिएको आवाज हरायो
डोरी बोकेका हातहरू हराए
अहिले सबैका हातमा मोबाइल छन्
सम्बन्धहरू अनलाइन छन्,
मनहरू अफलाइन।

सन्देश आउँछ
“म व्यस्त छु।”
गाउँ केही भन्दैन
चुपचाप पर्खिरहन्छ
सायद कुनै दिन
म व्यस्त नहुनेछु।

श्रीजङ्गा, तेल्लोक
ताप्लेजुङको त्यो मेरो गाउँ
जहाँ हिलोमा लडेर हाँसेको थिएँ
आमाको गाग्री समातेर
खोल्सासम्म दौडेको थिएँ।
जहाँ सानो दुःख पनि
आमाको काखमा पुगेर हराउँथ्यो।

आज खोला सुकिसकेको छैन
तर मभित्रको बालक
कतै हराएको छ।
गाउँ छोडेर हिँड्दा
उसलाई पनि सँगै ल्याउन बिर्सेछु।
अहिले सहरमा छु
तर ऊ अझै गाउँकै गोरेटोमा
नाङ्गा खुट्टा दौडिरहेको होला।

सहरमा आजकल
रूरल नोष्टलजिया ’ बिक्छ
गाउँ नदेखेकाहरू पनि
हरियो दृश्य मन पराउँछन्।
म गाउँका तस्बिरहरूमा
अलिकति रङ थपिदिन्छु
दुःख लुकाउँछु
भत्किएका घर छोप्छु
र पोस्ट गर्छु
“मेड़ ईन मेमोरी।”

मान्छेहरू मन पराउँछन्
हरियो गाड़
निलो आकाश
शान्त जीवन
तर कसले देख्छ
त्यो तस्बिरको पछाडि
बाँझिएको बारी
चर्किएको आँगन
र एक्लै बूढिएको घररु

अब गाउँ सपनामा आउँछ
म त्यही पुरानो बाटो हिँड्छु
आफ्नै बाँझो बारी हेर्छु
र आफूलाई नै भन्छु
“यहाँ त केही थिएन।”

गाउँ सुन्छ
तर केही बोल्दैन
फेरि चुप लाग्छ
ठ्याक्कै बाबाजस्तै
जो जीवनभर थाक्नुभयो
तर कहिल्यै गुनासो गर्नुभएन।

गाउँ रित्तिएको कुरा
कुनै तथ्याङ्कले बताउनुपर्दैन
पुरानो तस्बिरमा अड्किएको हाँसोले बताउँछ।
आमाको मौनताले बताउँछ।
बन्द ढोकाले बताउँछ।
आँगनमा उम्रिएको झारले बताउँछ।

तर हामीले
ती मौन आवाज बुझ्ने भाषा
बिस्तारै बिर्सँदै गयौँ।

गाउँको के दोषरु
ऊ त अझै त्यहीँ छ।
उही माटो
उही आकाश
उही बाटो
उही पर्खाइ।

साँझ पर्दा
अस्ताउँदो घामसँगै
गाउँ पनि बिस्तारै मौन हुन्छ।
सिकर्मीको पुरानो आरीझैँ
ढिलो चल्छ
कम बोल्छ
तर पूरै रोकिएको छैन।

र हामीरु
हामी गाउँबाट निस्कियौँ।
भविष्य खोज्न
सपना पछ्याउन
आफ्नो जीवन बनाउन।

दोष दिनु पनि कसलाईरु
सहरले बोलायो
समयले धकेल्यो
अवसरले तान्यो।
हामी हिँड्यौँ।
तर फर्केर हेर्ने आँट गरेनौँ।
सायद फर्किन नसक्नुको पीडा
फर्किन नचाहेको बहानाभित्र
लुकाएर राख्यौँ।

गाउँ रित्तिएको होइन
ऊ अझै त्यहीँ छ
मेरा पाइला पर्खिरहेको
त्यही पुरानो गोरेटो,
मैले छोडेपछि
जहाँ फर्केर टेक्न सकिनँ।

शरीर सहरमा छ
मन पटक–पटक गाउँ पुग्छ
कहिले आमाको आँगनमा
कहिले बाबाको चौतारीमा
कहिले आफ्नै बाल्यकालको
धुलाम्मे बाटोमा।

गाउँ चुप छ।
म पनि मौन छु।

तर कतै न कतै
एउटा बिउ अझै बाँकी छ।
सायद माटोमा
सायद सम्झनामा
सायद फर्किने इच्छामा।

त्यो बिउ उम्रेला कि नउम्रेला
भविष्यले बताउला।

तर आज एउटा कुरा बुझ्दै छु
गाउँको नाम नक्साबाट मेटिएको छैन
मुटुबाट पनि मेटिएको छैन।

गाउँ रित्तिएको होइन
हामीले गाउँ छोड्दै जाँदा
आफ्नै एउटा हिस्सा
त्यहीँ छोडेर आयौँ।

अनि आज
त्यही हराएको हिस्साको खोजीमा
हामी आफैँभित्र रित्तिँदै छौँ।

— प्रवीण भट्टराई
श्रीजङ्गा–४, तेल्लोक, ताप्लेजुङ
हालस् डालस, टेक्सस ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)