पराजय -युवराज मैनाली
तमसुकमा अङ्कका सैन्यहरू थपिरहेको बेला गजाधरको स्पन्दन एकाएक शान्त भयो, ओठले “गुहार” लगाउन भ्याएन, हृदय प्रत्यारोपण गर्नुपर्ने भयो । पदमार्गमा भेटिएको हिराजडित स्वर्ण अङ्गुठीको मालिक खोजी फिर्ता दिने समाजले सज्जन ठानेका एक जना व्यक्तिको त्यही साँझ महाप्रस्थान भयो । अङ्गदानलाई महादान मान्ने घरसदस्यहरूको सल्लाहबमोजिम पार्थिव देहबाट हृदय निकालेर अचेत देहमा स्थापित गरियो । पुनः धड्कन फर्कियो, रक्तसञ्चारले लय लियो, देह चलायमान बन्यो ।
सज्जनको हृदयले पुनर्जीवन प्राप्त देहसँग साउतिकुरा गर्यो “हजुरले यो अधिशेष आयु मेरा कारण प्राप्त गर्नुभएको हो । अब प्राणधारालाई दीप बनाउनुहोस्, हातलाई दानको साधन बनाउनुहोस्, जिब्रोलाई सत्य बनाउनुहोस् ।” केही क्षणमा गजाधरको देहले बहिखाता निकाल्यो र शेष लेखाजोखा पुरानै लयमा पुनरावृत्ति गर्यो । नयाँ हृदयले खिन्न हुँदै भन्यो, “हृदयदान भयो, प्राणदान भयो तर चित्तदान हुन सकेनछ । मैले धड्कन दिएँ त्यसैले पराजित भएँ ।”
