सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘सडक र शव’  (लघुकथा )


  • गाेपीराम भण्डारी
  • मङ्लबार, चैत्र २४, २०८२
  • 411
    SHARES

लघुकथा-  ‘सडक र शव’    

अशल, इमान्दार र साेझाे केटाे फुर्वाकाे विवाह गाउँलेहरूले गाउँकै साेझीकेटी आरतीसँग गरिदिए । खेतीपाती र ज्याला मजदुरी गरेर  फुर्वा र आरतीले जीवन बिताइरहेका थिए । खै के कुरामा चित्त बुझेन । एउटा छोरो उपहार दिएपछि आरती पल्लो गाउँकाे हर्केसंग हिँडी । त्यसपछि भने फुर्बा पागल जस्तै भयो।

नाबालक छोरा पालेर बस्नुपर्ने फुर्बाले आफूलाई रक्सीमै डुबाइदियो । चौबीसैघण्टा नशामा हिँड्न थाल्यो । उसलाई काेही काेहीले सम्झाए तर उसले कहिल्यै सुनेन। सायद सम्झाउनुपर्नेले सम्झाएनन् । व्यवहार र हालत दुबै बिग्रदै गए । उसलाई सुधार्न खासै कसैले प्रयास गरेनन् । ब्यबहार र बानीका कारण गाउँलेहरू पनि आजित भए  । आफन्तहरूले वास्ता गर्न छाडे । ऊ सडकमै खाने सडकमै सुत्ने गर्न थाल्यो। ऊ बेवारिसे जस्तै भयो र उसको छोरा पनि ।

एकदिन मध्यरातमा सडक दुर्घटनामा फुर्वाले  ज्यान गुमायो। उसको लास सडकमा राखेर गाउँलेहरूले बाटो बन्द गरे । सवारीधनीसँग गाउँलेहरूले नाबालक बच्चाको भविष्य भन्दै ठूलै रकम माग गरे।

घरजग्गा धितोमा राखी व्यवसाय गरेको सवारी धनीले मागे जति पैसा तिर्न नसक्ने भयो। तर गाउँलेहरूले सडक सुचारु गर्न मानेनन्  । अन्त्यमा प्रशासन  र अन्य सरोकारवालाहरू जम्मा भए । निकै लामो रस्साकस्सी र छलफल पश्चात क्षतिपूर्ति र भरणपोषण बापतकाे रकम बाह्रलाख प्राप्त हुने भयो ।

त्यसपछि क्षतिपूर्ति र बीमा बापतको रकम बुझेर बच्चाकाे अभिभाबकत्व दाबी गर्नेकाे ताँती लाग्यो । ताँती लाग्नेहरूमा बच्चाकै  जेठाबा, छिमेकी काइलो, तल्ला घरे राइलो, माथ्लाघरे च्याङ्बा, मितेनी काकी, भुसुनी माझी, संगीते साइलो लगायत थुप्रै थुप्रै । लामो समयसम्म पनि दाबीबाट कोही पछि हटेनन् ।

बच्चालाई गोद लिन गाउँलेहरुको तँछाड मँछाड भयो।  फुर्बा मरेको खबर सुनेर तीनवर्ष अघि नै हर्केसँग हिँडेकी आरती समेत मेरो श्रीमान हो भन्दै रुन थाली । निकै ठूलो विवादपछि मुद्दा अदालतसम्म पुग्यो । सडकमा फुर्बाकाे मृतशरीर गन्हाइरहेको थियो। लासमाथिको हकदाबी कसैको पुष्टि भएको थिएन। सडक र शव फैसला, पुष्टि र हकदाबीको व्यग्र प्रतिक्षामा थिए तर कहिले कसको हुने हो टुङ्गो थिएन ।

– गोपीराम भण्डारी

काठमाडौँ  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)