काठमाडाैं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पल कपुरबीच शिष्टाचार भेट भएकाे छ । भेटमा अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेशमन्त्रीबीच हालै सम्पन्न निर्वाचन पछि गठित बर्तमान सरकार र अमेरिकी सरकार बिच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्धन र द्धिपक्षीय सहयोगका विषयमा गहन छलफल भएकाे छ ।
उक्त छलफलमा अर्थमन्त्री डा. वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गरे । उनले पुराना अनावश्यक कानूनहरूको खारेजी र नयाँ कानून निर्माणद्धारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे ।
अमेरिकी लगानीकर्ता तथा गैर आवासिय नेपाली लगानीकर्ताहरूबाट विशेष गरी पर्यटन, स्वच्छ उर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको समेत सो अवसरमा बताए । अमेरिकी सहायक विदेश मन्त्री कपुरले नेपाल र अमेरिका बिचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे ।
हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमहरूलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मकरूपमा नजिकबाट हेरिरहेको समेत बताए । सफल व्यापारिक सम्बन्ध र US International Development Finance Corporation जस्ता सँस्थाहरूसँगको साझेदारीमा दुवै राष्ट्रहरूले लाभ लिन सक्ने विषयमा सहायक विदेश मन्त्रीले जोड दिए ।
