बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल आफैंमा एक बलियो ‘ब्राण्ड’ हो : अध्यक्ष पाण्डे


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १३, २०८३
  • 202
    SHARES

काठमाडौं –  नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल आफैंमा एक बलियो ‘ब्राण्ड’ भएको उल्लेख गर्दै त्यसको प्रभावकारी ब्राण्डिङ गर्न आवश्यक रहेको बताएका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले नेपालमा ब्राण्डको अभाव नभएको स्पष्ट पारे। उनका अनुसार नेपालका स्थानीय नामहरू नै अन्तर्राष्ट्रिय बजारमा ब्राण्डका रूपमा स्थापित हुनसक्ने सम्भावना रहेका छन्।

उनले बाजुरा, सोनाम, लिखुखोला वा मुक्तिनाथ जस्ता नामहरू आफैंमा ब्राण्ड बन्न सक्ने उदाहरण दिँदै नेपालको भौगोलिक, सांस्कृतिक र प्राकृतिक विविधताले देशलाई नै एउटा विशिष्ट पहिचान दिएको बताए। “नेपाल देश नै ब्राण्ड हो,” उनले भने, “सगरमाथाको चुचुरोदेखि तराईसम्मका भूभागलाई आधार बनाएर हामीले विभिन्न उत्पादनको ब्राण्डिङ गर्न सक्छौं।”

अध्यक्ष पाण्डेले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन र स्थायी पहिचान स्थापित गर्न बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए। तयारी पोशाक लगायतका क्षेत्रमा बढ्दो ‘कपी’ गर्ने प्रवृत्तिले मौलिकता कमजोर बनाइरहेको भन्दै उनले यस्ता अभ्यासलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।

“अरूको नक्कल गरेर उन्नति सम्भव छैन,” उनले भने, “हामीले आफ्नै मौलिक ब्राण्ड विकास गर्नुपर्छ र त्यसलाई विश्व बजारमा प्रवर्द्धन गर्नुपर्छ।”

‘मेरो उत्पादन, मेरो देश, विश्व बजार’ भन्ने नारासहित अघि बढ्न उद्यमीहरूलाई आग्रह गर्दै उनले अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाउन बौद्धिक सम्पत्ति संरक्षणलाई तीव्रता दिनुपर्ने बताए।

उनले नेपालमा उपलब्ध ढाका, अल्लो, हेम्प (गाँजा), जडीबुटी, यार्सागुम्बा र शिलाजित जस्ता बहुमूल्य प्राकृतिक स्रोतहरूको उपयोगमा कानुनी जटिलता रहेको उल्लेख गर्दै ती समस्याहरू तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे।

साथै, हाल उद्योग विभागमार्फत हुँदै आएका बौद्धिक सम्पत्ति सम्बन्धी कामहरू पर्याप्त नभएको भन्दै उनले छुट्टै ‘बौद्धिक सम्पत्ति विभाग’ स्थापना गर्न सरकारसँग माग गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)