बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २२, २०८३
  • 153
    SHARES

काठमाडौँ-  पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले आज जारी गरेको प्रेस विज्ञप्तिमा अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको उल्लेख गरिएको छ ।

ती गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सन्देशमा ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँच प्राप्त गर्न ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न शङ्कास्पद लिङ्कहरू पठाइन्छन् । प्रयोगकर्ताले ती लिङ्कमा क्लिक गरेपछि व्यक्तिगत विवरण सङ्कलन गरी बैङ्क खातामा अनधिकृत पहुँच पु¥याई ठूलो मात्रामा रकम चोरी गर्ने गरिएको साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोले यस्ता साइबर अपराधबाट जोगिनका लागि केही महत्त्वपूर्ण सुझावहरू पनि दिएको छ । शङ्कास्पद लिङ्कहरूमा क्लिक नगर्ने, बैङ्किङ कारोबारका लागि सधैँ आधिकारिक ‘वेबसाइट’ वा ‘एप’ मात्र प्रयोग गर्ने, आफ्ना गोप्य बैङ्किङ विवरण कसैसँग पनि साझा नगर्ने तथा कुनै पनि संदिग्ध गतिविधि देखिएमा तत्काल प्रहरी, साइबर ब्यूरो वा सम्बन्धित बैङ्कमा जानकारी गराउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

साइबर अपराधको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा सचेतना र सावधानी नै सुरक्षित रहने प्रमुख उपाय भएको ब्यूरोले उल्लेख गरेको छ ।

साइबर ब्यूरोको नाम लिएर ठगी गर्ने चार जना पक्राउ

साइबर ब्यूरो भोटाहिटीको टोलीले साइबर ब्यूरोको नाम लिएर अनलाइन घोटाला (ठगी) गर्ने गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दीपक लिम्बू, सुनसरी धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरव भुजेल, सोही उपमहानगरपालिका–१३ का २८ वर्षीय सजल राई तथा सुनसरी इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “साइबर ब्यूरो भोटाहिटीको नाम दुरूपयोग गरी ट्रूकलरमा समेत साइबर ब्यूरो देखिने बनाई पीडितलाई फोन सम्पर्क गरी डर, त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई बिद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भनी पीडित व्यक्तिहरूको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।”

प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उक्त कार्यमा निज चार जनाको संलग्नता खुल्न आएकाले साइबर ब्यूरोबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय, धरानको समन्वय एवं सहयोगमा पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय माध्यम सम्बद्ध ठगीअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता गिरीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)