बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले जानीजानी संसदको उपेक्षा गर्नुभएको छः महामन्त्री पौडेल


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३, २०८३
  • 66
    SHARES

काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उहाँले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गर्नुभयो । प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उहाँले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको बताउनुभयो ।

उहाँले ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नको घेरामा पर्न थालेको भन्दै यसले नागरिकमा निराशा बढाउने र व्यवस्थाभित्र विकल्प छैन भन्ने खालको सोच विकास हुनसक्ने चेतावनी दिनुभयो ।

महामन्त्री पौडेलले सरकारले शक्तिको अत्यधिक केन्द्रीकरण गरेको आरोप पनि लगाउनुभयो । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धानजस्ता निकाय प्रधानमन्त्री केन्द्रित बनाइएको उहाँको भनाइ थियो । संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा पनि ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने संरचना बनाइएको भन्दै उहाँले यस्तो अभ्यास विश्वमै दुर्लभ रहेको दाबी गर्नुभयो ।

उहाँले नेपाली कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने बताउनुभयो । सरकार असफल होस् भन्ने चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष चुप लागेर बस्न नसक्ने उहाँको भनाइ थियो ।

महामन्त्री पौडेलले ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान प्रधानमन्त्रीमा हाबी भएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउने खतरा रहेको बताउनुभयो । समयमै सरकारलाई सीमाभित्र राख्न नसके लोकतान्त्रिक मूल्य र प्रणाली गम्भीर संकटमा पर्न सक्ने उहाँको चेतावनी थियो ।

उहाँले राज्यको चरित्र लोकतान्त्रिक नभए नागरिकले दुःख पाउने, विधिको शासन कमजोर हुने र राज्यले समान व्यवहार गर्न नसक्ने बताउँदै कांग्रेस लोकतान्त्रिक मूल्य, मान्यता र विधिको रक्षाका लागि पछि नहट्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)