बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

होटल संघले भन्यो : बजेट पर्यटनमुखी, कार्यान्वयन चुनौती


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 146
    SHARES

काठमाडौँ — होटल संघ नेपाल (हान) ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्राथमिकता दिइएकोमा सन्तोष व्यक्त गर्दै घोषित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।

 

 

संघले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बजेटमा घोषणा गरिएको २०८५ नेपाल भ्रमण वर्ष, २०२७ आरोग्य वर्ष, निर्वाणपथ, कोशी करिडोर, ग्रेट हिमालयन ट्रेल, हिल स्टेसन विकास, मनाङ–मुस्ताङका गुम्बा संरक्षण, प्रादेशिक पर्यटन करिडोर विकास तथा नयाँ पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन जस्ता कार्यक्रमले पर्यटक आगमन, बसाइ अवधि र खर्च बढाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

संघले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा सञ्चालन, युरोपेली संघको एयर सेफ्टी सूचीबाट नेपाललाई हटाउने प्रयास तथा सीमाबाट पर्यटक प्रवेशलाई सहज बनाउने योजनालाई पर्यटन क्षेत्रका लागि सकारात्मक कदमका रूपमा स्वागत गरेको छ ।

हाल देशभरका होटल तथा रिसोर्टहरूको औसत अकुपेन्सी झन्डै एक तिहाइमा सीमित रहेको अवस्थामा यस्ता पहलले पर्यटक संख्या बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै, जनकपुरलाई विवाह पर्यटन गन्तव्यका रूपमा विकास, लुम्बिनी क्षेत्रको थप विस्तार, गण्डकी माउन्टेन बाइक ट्रेल तथा हिमाली पर्यटनको अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी कार्यक्रमलाई पनि संघले प्रशंसनीय भनेको छ ।

संघले निजी क्षेत्रलाई विकास साझेदारका रूपमा स्वीकार गर्दै आर्थिक कूटनीति, गैरआवासीय नेपालीसँग सहकार्य, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, स्थिर बैंक ब्याजदर, दक्ष जनशक्ति विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणमा बजेटले दिएको जोड पर्यटन व्यवसायका लागि सकारात्मक रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)