विराटनगर- विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमा पहिलो पटक दुई नयाँ र उन्नत उपचार पद्धति — हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सुरु गरेको छ। यी दुवै पद्धति बिरामीको रगतमा भएका हानिकारक पदार्थहरू छानेर हटाउने र सफा रगत पुनः शरीरमा फर्काउने कार्य गर्दछन्।
हेमोपर्फ्युजन उपचार पद्धतिमा बिरामीको रगतलाई एक विशेष फिल्टरबाट पार गराएर विष, हानिकारक औषधि र विभिन्न रासायनिक पदार्थहरू हटाइन्छ। यो विधि विशेष गरी विषाक्तता (Poisoning), , ड्रग ओभरडोज र गम्भीर सङ्क्रमण (Sepsis) का बिरामीहरूको उपचारमा अत्यन्त उपयोगी र प्रभावकारी हुन्छ।
त्यसै गरी प्लाज्माफेरेसिस उपचार प्रक्रियामा रगतको प्लाज्मा भागबाट हानिकारक एन्टिबडी र विषाक्त पदार्थ छुट्टाएर हटाइन्छ। यो तरिका मुख्यतः स्नायु सम्बन्धी विभिन्न रोग र मिर्गौला सम्बन्धी जटिल बिरामीहरूको उपचारमा प्रयोग गरिन्छ। यी उन्नत उपचार सेवाहरू सुरु भएपछि पूर्वी नेपालका बिरामीहरूलाई उपचारका लागि अब काठमाडौँ वा भारत जान नपर्ने विराट मेडिकल कलेज टिचिङ हस्पिटलका Consultant Anesthesiologist र Critical Care Physician डा .दीपक पौडेलले बताउनुभयो।
डा. पौडेलका अनुसार, यी सेवाहरूको सुरुवातले स्थानीय र पूर्वी नेपालका बिरामीहरूलाई विश्वमानको उपचार स्वदेशमै पाउने सुविधा प्रदान गरेको छ। यससँगै, बिरामीहरूको आर्थिक र शारीरिक बोझ पनि कम हुने अपेक्षा गरिएको छ।
