बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भन्सार कर छली प्रकरण : संसदीय छानबिन समिति गठन गर्न माग


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २८, २०८३
  • 106
    SHARES

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही ले भन्सार कर छलीसम्बन्धी प्रकरणको तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेता शाहीले विद्युतीय सवारीसाधन (ईभी) आयातमा कर छली भएको आरोप लगाउँदै घटनाको निष्पक्ष अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो। उहाँले अर्थमन्त्री स्वयं उक्त प्रकरणमा संलग्न रहेको दाबी गर्दै सत्य तथ्य सार्वजनिक गर्न संसदीय छानबिन आवश्यक रहेको धारणा राख्नुभयो।

 

 

 

नेता शाहीले अर्थमन्त्रीले संसदीय समितिमा समेत गलत जानकारी दिएको आरोप लगाउँदै गाडी नेपाल भित्रिनुअघि नै कसरी भन्सार जाँच पास भयो भन्ने विषयमा सरकारसँग जवाफ माग गर्नुभयो। साथै, गत वर्ष पनि केही सवारीसाधनमा भन्सार तथा कर छुट दिइएको विषयमा छानबिन गरी राजस्व असुल गर्न महालेखा परीक्षकको प्रतिवेदनले सुझाव दिएको भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

उहाँले महालेखा परीक्षकको प्रतिवेदन उद्धृत गर्दै तातोपानी, कोरला र रसुवागढी नाकाबाट आयात गरिएका ईभी गाडीको मोटर क्षमतासम्बन्धी विवरणमा हेरफेर गरी कर छुट दिइएको उल्लेख गर्नुभयो। प्रतिवेदनअनुसार ती नाकामार्फत मात्रै २ अर्ब ५० करोड ८३ लाख १६ हजार रुपैयाँ बराबरको राजस्व छुट भएको र देशभर कुल ३ अर्ब ७७ करोड ४४ लाख १९ हजार रुपैयाँ कर तथा महसुल छुटबारे छानबिन गरी असुलउपर गर्नुपर्ने उल्लेख गरिएको उहाँको भनाइ थियो।

शाहीले महिनाको पहिलो १४ दिनभित्र हजारौँ सवारीसाधन आयात भएको र गाडी नेपाल आई पुग्नुअघि नै भन्सार पास भएको देखिने अवस्थाले गम्भीर प्रश्न उठाएको बताउनुभयो। दोषी ठहर गर्ने उद्देश्य नभई सत्य तथ्य पत्ता लगाउन मात्र संसदीय छानबिन समिति गठनको माग गरिएको उहाँले स्पष्ट पार्नुभयो।

उहाँले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा त्यसअनुसार काम गर्न नसकेको आरोप समेत लगाउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)