मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १२, २०८३
  • 28
    SHARES

काठमाडाैँ –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह तत्काल सुचारु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ।

सभापति थापाले सामाजिक सञ्जालमार्फत यही साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताउनुभएको छ।

नागरिकको जीवनरक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु तथा उपचारका क्रममा दुर्व्यवहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ।

उक्त घटनापछि पेशागत सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघलगायतको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीले सास्ती भोग्नुपरेको थापाले उल्लेख गर्नुभएको छ। आफ्नो सुरक्षा र पेशागत हकका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको उहाँले बताउनुभएको छ।

यस्तो परिस्थिति यसअघि पनि पटक–पटक देखिएको भन्दै थापाले यसको तत्कालीन र दीर्घकालीन समाधान खोज्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभएको छ।

उहाँले विगतमा चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलन र नेपाली कांग्रेसको पहलपछि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै नारायणी अस्पतालमा भएको घटनामा संलग्न दोषीलाई कानूनबमोजिम कारबाही गर्न माग गर्नुभएको छ। साथै, वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी तथा प्रहरीमाथि निष्पक्ष छानबिन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ।

नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षासम्बन्धी माग सम्बोधन गर्न तथा ओपिडीलगायत अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्ने वातावरण बनाउन सरकारले अतिरिक्त पहल गर्नुपर्ने थापाको भनाइ छ।

स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले यसको संवेदनशीलतालाई ध्यानमा राख्दै हजारौँ नागरिक तथा बिरामीको अवस्थालाई मध्यनजर गरी सेवा प्रवाह नरोक्न र वार्ता तथा संवादमार्फत समस्याको समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघलगायत सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि उहाँले अपिल गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)