काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि भारतले पाँचौँ खेपको सहयोग पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान विमानमार्फत पाँचौँ चरणको सहयोग नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
यस खेपको सहायतामा विशेष उपकरणसहितको ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधिहरू समावेश छन्।
भारतले पछिल्लो समय नेपाललाई उपलब्ध गराउँदै आएको मानवीय तथा प्राविधिक सहयोगलाई थप विस्तार गरेको छ। पाँचौँ राहत उडानमार्फत ५.५ टन औषधि, विशेष उद्धार उपकरण र ११ सदस्यीय उद्धार टोली नेपाल आइपुगेको हो।
भारतबाट नेपालमा उद्धार तथा प्राविधिक सहयोगका लागि २२ सदस्यीय उद्धार तथा प्राविधिक टोली परिचालन गरिएको छ। यसबाहेक बाढीमा मृत्यु भएका तथा बेपत्ता व्यक्तिको पहिचानमा सहयोग पुर्याउन १९ सदस्यीय फरेन्सिक तथा डीएनए विश्लेषण विशेषज्ञ टोली पनि नेपालमा कार्यरत छ।
भारतले यसअघि पठाएका राहत सामग्रीसहित अहिलेसम्म हवाई मार्गबाट मात्रै करिब ६८.५ टन राहत सामग्री नेपाल पुगेको भारतीय पक्षले जनाएको छ। त्यसमा औषधि, खाद्य सामग्री, जेनेरेटर, पानी शुद्धीकरणका सामग्री तथा उद्धारका लागि आवश्यक प्राविधिक उपकरणलगायत छन्।
