काठमाडौँ – त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सुचारु गर्न निर्माण व्यवसायीका उपकरणहरू प्रयोग गरी मर्मत कार्यलाई तिब्रता दिइएको छ ।
धादिङको गल्छीदेखि मुग्लिनसम्मका विभिन्न स्थानमा थुप्रिएको हिलो र पहिरो पन्छाउने कार्य जारी रहेको हो । सडक विभागकाअनुसार राजमार्गका विभिन्न खण्डमा निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेण्ट तथा यान्त्रिक उपकरणहरू परिचालन गरिएको छ । बाढीले पृथ्वी राजमार्गको करिव १५ किलोमिटर सडक खण्डमा क्षति पु¥याएको छ । यसका साथै सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्ट र अन्य उपकरणहरू समेत बाढीले बगाएको छ । सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश आचार्यले सडक विभागसँग पहिरो पन्छाउने अनुभव भएपनि हिलो र लेदो व्यवस्थापनमा केही जटिलता आएको बताउनु भयो । उहाँकाअनुसार निर्माण व्यवसायीका पर्याप्त हेभी मेसिनरी प्रयोग गरेर बैरेनीको १४ सय मिटर र जरेखेतको ४ सय मिटर सडक खण्डमा जमेको हिलो सफा गरी यातायात सुचारु गरिसकिएको छ ।
यद्यपि, जरेखेत क्षेत्रमा सवारी आवागमनमा अझै केही समस्या रहेको र पोखरे, बाँगे तथा गलौँदी क्षेत्रको करिब ७ सय मिटर सडकमा यातायात सञ्चालन हुन बाँकी रहेको छ । सडक स्तरोन्नतिको जिम्मेवारी पाएको शर्मा–लामा जेडआईइसी कम्पनीको उपकरणहरू परिचालन गरी अवरोध हटाउने कार्य भइरहेको छ । इन्जिनियर आचार्यले आज साँझसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल
