रसुवा- बाढीपहिरोबाट प्रभावित रसुवाका नागरिकलाई राहत पुर्याउने उद्देश्यले सपना भिलेजले असोज २२ गते तेस्रो चरणमा ५०० वटा सुधारिएको चुलो, २० क्विन्टल चामल, लत्ताकपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।
सपना भिलेजले रसुवाका बाढीपीडितलाई सहयोग गरेको यो पाँचौँ पटक हो। तीमध्ये तीन पटक रसुवामै पुगेर राहत सामग्री वितरण गरिएको छ भने अन्य दुई पटक बाढीका कारण चितवनसम्म बगाएर ल्याइएका शवहरूको व्यवस्थापन तथा आवश्यक सहयोगमा सपना भिलेज सोसल इम्प्याक्ट (SVSI) ले मानवीय सहयोग गरेको थियो।
कालिका गाउँपालिका धैबुङ, नौकुण्ड गाउँपालिका सरमथली तथा श्री ग्रिन गार्डेन बोडीङ स्कूल, कालिकास्थानबाट प्राप्त आधिकारिक पत्र तथा मागका आधारमा राहत सामग्री वितरण गरिएको हो। यसअघि पहिलो चरणमा ५५ र दोस्रो चरणमा २०० वटा सुधारिएको चुलो वितरण गरिएको थियो।
थोरै दाउरामा खाना पकाउन सकिने र धुवाँ कम निस्कने भएकाले सुधारिएको चुलोले दाउराको खपत घटाउनुका साथै घरभित्रको वायु प्रदूषण कम गर्न, स्वास्थ्य संरक्षण गर्न र वातावरण जोगाउन मद्दत गर्छ। स्थानीय समुदायमा यसको माग बढ्दै गएको सपना भिलेजका संस्थापक ध्रुव गिरीले बताउनुभयो।
यसपटक आधिकारिक मागअनुसार २० क्विन्टल चामल वितरण गर्नुका साथै बाढीका कारण बाबुआमा गुमाएका बालबालिकालाई लत्ताकपडा तथा शैक्षिक सामग्री उपलब्ध गराइएको छ। त्यस्तै, श्री कालिका हिमालय माध्यमिक विद्यालयलाई पनि स्टेसनरी सामग्री सहयोग गरिएको छ।
सपना भिलेजका संस्थापक गिरीले स्थानीय समुदाय तथा सरकारी निकायसँगको समन्वयमा वास्तविक आवश्यकता पहिचान गरी आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सपना भिलेजले राहत वितरणसँगै सुधारिएको चुलोमार्फत स्वच्छ खाना पकाउने प्रविधिको प्रवर्द्धन, स्वास्थ्य संरक्षण तथा वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्दै आएको छ।
