शनिबार, अशोज २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेला

तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २३, २०८३
  • 43
    SHARES

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२, भङ्गालमा अवैध रूपमा सुन प्रशोधन गरिरहेको अवस्थामा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा छापा मार्दै करिव ५४ करोड ६० लाख रुपैयाँ बराबरको २१ किलो ७५० ग्राम सुन र प्रशोधनका लागि प्रयोग हुने मेसिनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले पक्राउ परेकाहरूमा हान फेइ, झोउ लोङ कुइन र वाङ ज्याङ जेन रहेको बताउनु भयो । उनीहरूले बुढानिलकण्ठस्थित एक घर मासिक ३ लाख ३० हजार रुपैयाँ भाडामा लिई अवैध सुन प्रशोधन कारखाना सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीकाअनुसार बरामद गरिएको सुन बिस्कुट र लेसिलो (पेस्ट) अवस्थामा छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको परीक्षणबाट सो धातु सुन नै भएको पुष्टि भएको छ । पक्राउ परेकाहरूको साथबाट सुन तौलने तराजु, प्रशोधन गर्ने मेसिन, विभिन्न आकार दिने मोल्डिङ उपकरण, नगद (नेपाली र चिनियाँ), मोबाइल, सिमकार्ड तथा एटीएम कार्डहरू पनि बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानले यो गिरोह चीनमा रहेका ‘जेन जिया ल’ नामक व्यक्तिको निर्देशनमा सञ्चालित रहेको देखाएको छ । मुख्य योजनाकार मानिएका सु क्यानले घर भाडामा लिएर चीन फर्केपछि अन्य व्यक्तिहरूलाई नेपाल पठाएको र उनीहरूले ‘वी–च्याट’ मार्फत निर्देशन लिँदै सुन प्रशोधन र ओसारपसार गर्ने गरेको पाइएको छ । गिरोहले कच्चा सुनलाई केमिकलको प्रयोगबाट विभिन्न आकारमा ढाल्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले गाडीमा डेलिभरीका लागि लैजान लागिएको अवस्थामा समेत केही सुन बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिकहरू असोज महिनाको विभिन्न मितिमा नेपाल प्रवेश गरेको अभिलेखबाट देखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)