मङ्लबार, अशोज २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली


  • माउन्टेन खबर
  • आइतवार, अशोज २५, २०८३
  • 52
    SHARES

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रकियाअनुसार हुँदै जाने बताउनुभएको छ ।

 

 

पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्यता आवश्यक पर्ने बताउनुभएको हो । उहाँले नयाँ पुस्तालाई तालिम, क्षमता विकासमार्फत क्रमशः नेतृत्वका लागि तयार गनुपर्ने बताउनु भयो । तर अहिले समाजमा पुस्तान्तरणको नाममा विभाजन गर्ने प्रयास भईरहेको उहाँको आरोप छ । उहाँले समाजमा जात, धर्म र भूगोलका आधारमा विभाजन गर्न नसकेर हाल बाबु–छोरा तथा हजुरबा–नातिबीच पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको बताउनु भयो । नयाँ पुस्ताले पुरानो पुस्तालाई तत्काल जिम्मेवारी छाड्न दबाब दिनु अनुचित भएको उहाँको दाबी छ । उहाँले प्राध्यापक बन्नका लागि लेक्चररबाट शुरु गर्नुपर्ने बताउनु भयो । नयाँ पुस्तालाई योग्य, दक्ष र सक्षम बनाएर क्रमशः जिम्मेवारी दिँदै लैजाने उल्लेख गर्दै उहाँले नेतृत्व हस्तान्तरणका लागि आवश्यक तयारी र अनुभव हासिल गर्न समय लाग्ने बताउनु भयो । आफ्नो राजनीतिक जीवनको सुरुवाती समय स्मरण गर्दै उहाँले आफूहरु सानै उमेरमा नेतृत्व तहमा पुगेको बताउनु भयो । तर तत्कालीन नेतृत्वको उमेरलाई अहिलेको पुस्तासँग सीधै तुलना गर्न नमिल्ने उहाँको जिकिर छ । अहिले १९ वर्षको मान्छेले पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘नेपाली जनतालाई अनेक ढङ्गले विभाजित गर्न खोजिएको छ । कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले केका नाउँमा । अहिले बाबु–छोरा, हजुरबा–नातिको मारामार लगाएर हे¥या छन् । हस्तान्तरण, पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ । तर त्यसको सिस्टम हुन्छ । एकैचोटि प्रोफेसर भइन्न । त्यसको प्रक्रिया हुन्छ । त्यसको सिलसिला हुन्छ । त्यसो भएर हाम्रो नयाँ पुस्तालाई हामीले योग्य, दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै, ट्रेन्ड बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ । अलिकति टाइम लाग्छ । २००६ सालमा पार्टी खोल्दा पुष्पलालको उमेर २४ वर्षको थियो । अब फेरि पुष्पलालले २४ वर्षको उमेर पार्टी खोल्या थिए, म पनि २४ वर्षमा खोल्छु भनेर हुन्छ त ? यो त पनाति पुस्ता भइसक्यो । ७६ वर्ष काम गरेका मान्छे छन्, यहाँ । हामीले नै काम गरेको ६२ वर्ष भइसक्यो, पहिलेको जस्तो होइन । सीपी मैनाली पार्टीको प्रमुख भए, २० वर्ष । म १९ मा भएको थिएँ । त्यतिबेला हामी पार्टीको प्रमुख थियौँ भनेर अहिले पनि १९ वर्षको मान्छे पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुन्छ । यहाँ हजुरबा पुस्ता, बा पुस्ता, काका पुस्ता सक्रिय छ, काम गरिरहेका छन् अहिले पनि । त्यसकारण अब १९–२० वर्षको मान्छे, तपाईं त १९ वर्षमा हुनुभएको रहेछ त म किन नहुने भनेर हुँदैन । अहिले आन्दोलन छैन । नयाँ पुस्ताले तालिम गर्नुपर्छ । नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ । नयाँ पुस्तालाई अगाडि बढाएर लिएर जानुपर्छ । लेक्चररमा भर्ना नगरिकन प्राध्यापक भन्न पनि मिल्दैन । त्यसकारण प्राध्यापक हुँदैन, प्राध्यापक हुने एउटा प्रक्रिया हुन्छ । अब यहाँनेरी युवा युवा युवा युवा युवा भनेर हल्ला चलाइदिएका छन् । समाजमा सबै उमेर समूहका मान्छे हुन्छन् । सबै उमेर समूहको कम्बिनेसन हुन्छ । बच्चाबच्चीले काम गर्न सक्दैन । बुढाबुढी पनि हातपाउ बस्ने बेला भएपछि काम गर्न सक्दैनन् । कान सुन्न छोड्छ, आँखा देख्न छोड्छ, हिँड्न सक्दैन, बोल्न सक्दैन, विचार गर्न सक्दैन, मानसिक हिसावले कमजोर हुन्छ, शारीरिक हिसाबले कमजोर हुन्छ । उसले छोड्दिन भने पनि छोड्नै पर्छ के । त्यो हामीले बुझिहाल्छौँ नि कसले काम गर्न सक्छ, सक्दैन भन्ने । आफैले पनि बुझ्छ नि मान्छेले, अब मबाट चल्दैन भनेर थाहा पाउँछ, छोड्छ । तसर्थ यो धेरै लफडा हुनुपर्ने होइन । यतिबेला पार्टी एकता चाहिएको छ । सम्पूर्ण कार्यकर्ता पंक्ति एकजुट भएर अगाडि बढ्नुपर्दछ । यस पार्टीले नै देशलाई बाटो देखाउँछ । बाटो देखाउने पार्टी यही हो ।’

उहाँले कुनै व्यक्तिले जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था आएपछि नेतृत्वबाट आफै हट्ने बताउनुभयो । हाल पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उहाँले पुस्तान्तरण लगायतका अनेक झमेलामा नपर्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले देशलाई एमालेले नै सही बाटोमा लैजाने बताउनु भयो । एउटा निर्वाचन हार्दैमा एमाले कमजोर नहुने उहाँको भनाई छ । उहाँले कार्यकर्ताहरुलाई उच्च मनोबलका साथ जागरण अभियानमा पनि आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)