काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएको बताएका छन् ।
नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेलाई अनुकूल बन्दै गएको बताएका हुन् ।
उनले एमालेले स्थानीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीलाई गम्भीर भएर लाग्ने बताए। उनले स्थानीय तह र प्रदेश सभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको उल्लेख गरे ।
स्थानीय तह निर्वाचन केवल स्थानीय सरकार गठनमा सीमित नरहेको उल्लेख गर्दै उनले यसले राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता तयार गर्ने बताए । स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्वपूर्ण हुने उनको भनाई छ ।
त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा निर्वाचनका लागि थप मतभार भएका मतदाता चयन गर्ने उनले बताए ।
प्रदेश सभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता समेत हुने भएकाले आगामी निर्वाचनहरू एक अर्कासँग अन्तरसम्बन्धित रहेको उनको भनाई छ । आगामी दिनमा स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने उल्लेख गर्दै यी सबै निर्वाचनलाई रणनीतिक महत्वका साथ लिनुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचनलाई फोकस गरेर संगठन निर्माण गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए। कार्यकर्ताबीचमा एकता नहुँदा एमालेले निर्वाचनमा धक्का व्यहोर्नुपरेको उनको भनाई छ । उनले निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमा नै कारबाही गर्न पनि निर्देशन दिए।
उनले भने, ‘अब निर्वाचनहरू आउँदै छन् । अब तुरुन्तै हाम्रा अगाडि स्थानीय तहको निर्वाचन आउँछ । स्थानीय तहको निर्वाचन भनेको स्थानीय तहको निर्वाचन मात्रै होइन । त्यो भोलि गएर राष्ट्रिय सभाको निर्वाचन पनि हो । स्थानीय तहमा प्रमुख, उपप्रमुख जो हुन्छन्, उनीहरूले भोट हाल्ने हो राष्ट्रिय सभालाई । यसको स्थानीय तहमा सरकार बनाउने अथवा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख, सदस्यहरू, कार्यकारिणी आदि बनाउने कुरासँग मात्रै सम्बन्धित छैन । त्यसकारण यो निर्वाचन राष्ट्रिय सभामा मतदाता तयार गर्ने निर्वाचन हो । देश विकासका काम गर्न, भ्रष्टाचार रोक्न, जनताको सेवा पुर्याउन, स्थानीय तहबाट विकासका कामहरूलाई अगाडि बढाउन, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन यो स्थानीय तहको निर्वाचनको असाधारण महत्व छ । एक वर्षपछि प्रदेश सभाको निर्वाचन हुन्छ । प्रदेश सभाको निर्वाचन प्रदेशभरिका लागि सरकार बनाउने, त्यहाँका रिसोर्सहरू परिचालन गर्ने, त्यहाँ विकास निर्माण गर्ने, त्यहाँको बजेटको सदुपयोग गर्ने छँदैछ, त्यसबाहेक राष्ट्रिय सभाको मतदाता तयार गर्ने पनि हो । अर्को कुरो त्यसपछि तुरुन्तै राष्ट्रपति निर्वाचन हुन्छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रपति निर्वाचनका लागि मतदाता भनेका प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभाका सदस्य हुन् । स्थानीय तहको निर्वाचन, प्रदेश सभाको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, यी निर्वाचनहरू हाम्रा अगाडि आउँदै छन् । यो निर्वाचन एक्लै स्वतन्त्र निर्वाचन मात्रै छैन, त्यसको सम्बन्ध फेरि अर्को कुरासँग जोडिएको छ । त्यसको निर्वाचनको माथि राष्ट्रिय सभा गठनसँग जोडिएको छ । यसर्थ हामीले यसमा अत्यन्तै ध्यान दिएर लाग्न जरुरी छ । योजनावद्ध ढङ्गले लाग्न जरुरी छ । आगामी निर्वाचनलाई हामीले महत्वको साथ लिएका छौँ । हाम्रो लागी अहिले अनुकूल वातावरण पनि छ, विगतको निर्वाचनमा जस्तो अहिले हामीलाई असहज छैन । यद्यपि सरकारको क्रियाकलाप अझै स्वेच्छाचारी नै छ ।’
उनले गत फागुनमा भएको निर्वाचन भदौ २३ र २४ गते भएको अराजकलाई वैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर गरिएको आरोप लगाए । उनका अनुसार उक्त निर्वाचन राज्यशक्तिको प्रयोग गरेर शान्तिपूर्ण रूपमा बुथ कब्जा गरिएको थियो । –न्युज एजेन्सी नेपाल
