भक्तपुर- वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानूनी व्यवस्था गरिएको बताउनुभएको छ ।
मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताउनु भयो । मुख्यमन्त्री थापा मगरले वागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने गरी ऐन निर्माण गरी कार्यान्वयनको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । बहुभाषिक र बहुजातीय मुलुकमा प्रदेशको भाषिक तथा सांस्कृतिक पहिचानलाई सरकारी मान्यता दिनु संघीयताको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ । उहाँले वागमती प्रदेश सरकारले भाषा, साहित्य, कला र संस्कृतिको उत्थानका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताउनु भयो । सोही क्रममा शङ्खधर साख्वाः प्रतिष्ठानको संग्रहालय निर्माण, संरक्षण र विकासका लागि समेत प्रदेश सरकारले बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । वागमती प्रदेशका १३ वटै जिल्लामा शङ्खधर साख्वाको योगदान र पहिचानलाई स्थापित गर्नुपर्ने उल्लेख गर्दै उहाँले यस वर्ष दोलखा जिल्लामा शङ्खधर साख्वाः प्रतिष्ठान निर्माणका लागि समेत बजेट विनियोजन गरिएको बताउनु भयो । मुख्यमन्त्री थापा मगरले नेपाल बहुभाषिक र बहुजातीय मुलुक भएकाले हरेक भाषा, संस्कृति र परम्पराको आफ्नै मौलिक महत्व रहेको बताउनु भयो । प्रदेशको जनसांख्यिक तथा भाषिक विशेषताअनुसार भाषा र संस्कृतिको संरक्षण गर्दै सरकारी मान्यता दिने काम संघीयताको सुन्दर पक्ष भएको उहाँको भनाइ छ ।
मुख्यमन्त्री थापा मगरले भन्नुभयो, ‘राष्ट्रिय विभूति शङ्खधर साख्वाःले सर्वसाधारण जनतालाई ऋणमुक्त गराई मानवता, परोपकार र सामाजिक सेवाको अनुपम उदाहरण प्रश्तुत गर्नुभएको थियो । उहाँको यही महान योगदानका कारण नेपाल सम्वत् हाम्रो मौलिक राष्ट्रिय पहिचान र गौरवको प्रतीक बनेको छ । नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक हो । प्रत्येक भाषा र संस्कृतिको आफ्नै मौलिक महत्व छ । वागमती प्रदेश सरकारले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि निरन्तर बजेट विनियोजन गर्दै आएको छ । शङ्खधर साख्वाः प्रतिष्ठानको संरक्षण, संग्रहालय निर्माण तथा विकासका लागि समेत प्रदेश सरकारले सहयोग गरेको छ । साथै, दोलखा जिल्लामा पनि शङ्खधर साख्वाः प्रतिष्ठान निर्माणका लागि बजेट विनियोजन गरिएको छ । वागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानूनी व्यवस्था गर्नु ऐतिहासिक उपलब्धि हो । यो संघीयताको मर्मअनुरूप स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्ने महत्वपूर्ण कदम हो ।’
उहाँले शङ्खधर साख्वाले ११४७ वर्षअघि ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएर गरेको परोपकारी कार्य सामाजिक सेवाको महत्वपूर्ण उदाहरण भएको उल्लेख गर्दै उहाँको योगदानको संरक्षण र प्रचारप्रसारमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । –न्युज एजेन्सी नेपाल
