आइतवार, मंसिर ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘भारतीय पर्यटक दोब्बर भित्र्याउन सकिन्छ, कनेक्टिभिटीका लागि दिल्लीसँग कुरा गरौँ’-विनायक शाह


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर ५, २०८३
  • 65
    SHARES

प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणलाई पर्यटन क्षेत्रले भारतीय पर्यटक आगमन वृद्धि र दुई देशबीचको पर्यटन सहकार्य विस्तारको अवसरका रूपमा हेरेको छ ।

होटल एशोसिएशन नेपाल (हान) ले आईतवारबाट प्रधानमन्त्रीले गर्ने भारत भ्रमणका क्रममा हवाई तथा स्थल कनेक्टिभिटी विस्तार, धार्मिक पर्यटन प्रवद्र्धन, पर्यटन सर्किट निर्माण र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएको छ । हानका अध्यक्ष विनायक शाहकाअनुसार नेपालमा भारतीय पर्यटक भित्र्याउने सम्भावना ठूलो भएपनि त्यसअनुसार उपलब्धि हासिल हुन सकेको छैन । हाल वार्षिक औसत तीन लाख भारतीय पर्यटक नेपाल आउने गरेको उल्लेख गर्दै यसलाई दोब्बर बनाउने लक्ष्यका साथ कनेक्टिभिटिका लागि प्रधानमन्त्री साहको भारत भ्रमणका बेला प्रस्ताव गरिनुपर्ने बताउनु भयो ।

साहले भारतीय पर्यटकको संख्या बढाउन सबैभन्दा पहिले हवाई कनेक्टिभिटी सहज बनाउनुपर्ने बताउनु भयो । उहाँकाअनुसार भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि प्राविधिक व्यवस्थासँगै राजनीतिक तहबाट दुईदेशबीच आवश्यक निर्णय हुनुपर्छ ।

भारतका दिल्ली, मुम्बई, बेङ्गलुरुजस्ता ठूला सहरसँगै लखनउ, कानपुर, बनारस, बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, पञ्जाव, राजस्थान र गुजरातलगायतका क्षेत्रबाट सिधा हवाई सम्पर्क विस्तार गर्नसके भारतीय पर्यटक आगमन उल्लेख्य रूपमा बढाउन सकिने उहाँको भनाइ छ ।

नेपाली तथा भारतीय वायुसेवा कम्पनीलाई विभिन्न भारतीय सहरबाट नेपालसम्म उडान सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने शाहको सुझाव छ । उहाँले भारतीय पर्यटक नेपाल आउन इच्छुक रहेको तर हवाई सम्पर्क र व्यवस्थापकीय सहजताको अभावले अपेक्षित आगमन हुन नसकेको बताउनु भयो ।

पर्यटन प्रवद्र्धनका लागि धार्मिक पर्यटनलाई पनि विशेष प्राथमिकता दिनुपर्ने हानको प्रश्ताव छ । विशेषगरी अयोध्या र जनकपुरबीच प्रश्तावित रेल सेवा सञ्चालनले नेपालमा धार्मिक पर्यटक भित्र्याउन नयाँ अवसर सिर्जना गर्ने शाहको विश्वास छ । अयोध्या आउने भारतीय तीर्थयात्रीलाई जनकपुरस्थित जानकी मन्दिरसम्म ल्याउन सके धार्मिक पर्यटनको नयाँ मार्ग विस्तार हुने उहाँले बताउनु भयो ।

तर जनकपुर आउने पर्यटकलाई त्यहीँ सिमित नराखी काठमाडौं, पोखरा, चितवनलगायतका प्रमुख पर्यटकीय गन्तव्यसम्म पु¥याउने गरी एकीकृत पर्यटन प्याकेज बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यसका लागि हानको मधेस प्रदेश च्याप्टर, अग्रणी ट्राभल एजेन्सी र पर्यटनसंवद्ध संस्थाहरूसँगको सहकार्यमा आगामी साता बृहत् कार्यक्रम तथा प्याकेज निर्माणको तयारी भइरहेको शाहले जानकारी दिनुभयो । हानले धार्मिक पर्यटनसँगै खेल पर्यटन, माइस पर्यटन, बिजनेस ट्रिप र डेस्टिनेसन वेडिङलाई पनि भारतीय पर्यटक आकर्षित गर्ने प्रमुख माध्यमका रूपमा अघि सारेको छ । काठमाडौंमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाल र भारतबीच खेल पर्यटनको सम्भावना देखाएको उल्लेख गर्दै शाहले क्रिकेटलगायतका खेल गतिविधिलाई पर्यटनसँग जोडेर संयुक्त रूपमा प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

त्यसैगरी, सम्पन्न भारतीय परिवारलाई नेपालमा विवाह समारोह आयोजना गर्न आकर्षित गर्ने गरी विशेष प्याकेज र सहज नीतिगत व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ । भारतीय कम्पनीहरूलाई नेपालमा व्यावसायिक बैठक, सम्मेलन र अन्य कार्यक्रम आयोजना गर्न प्रोत्साहित गर्नसके माइस पर्यटन र व्यावसायिक भ्रमणसमेत विस्तार हुने उहाँले बताउनु भयो ।

शाहले भारतीय सरकारी कर्मचारीले पाउने लिभ ट्राभल अलाउन्स (एलटीए) सुविधाअन्तर्गत नेपाल भ्रमण गर्न पाउने व्यवस्था गर्न पनि नेपाल सरकारले भारतीय पक्षसँग पहल गर्नुपर्ने प्रश्ताव अघि सार्नुभएको छ । यसबाट ठूलो संख्यामा भारतीय सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सकिने उहाँको तर्क छ ।

नेपाल र भारतबीच यसअघि विभिन्न संयुक्त पर्यटन प्रवद्र्धन समिति तथा संयन्त्रले हिन्दु सर्किट, रामायण सर्किटलगायतका अवधारणा अघि सारे पनि कार्यान्वयन पक्ष कमजोर रहेको शाहको भनाइ छ । उहाँले विगतमा भएका सहमति, अध्ययन र सिफारिसलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्रीस्तरबाटै पहल हुनुपर्ने बताउनु भयो ।
अध्यक्ष शाहले भन्नुभयो,‘भारतबाट ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना छ । तर अहिले वार्षिक औसत तीन लाख भारतीय पर्यटक मात्रै नेपाल आउने गरेका छन्। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबाट पर्यटन क्षेत्रले ठूलो अपेक्षा गरेको छ । सबैभन्दा महत्वपूर्ण विषय कनेक्टिभिटी हो । हवाई तथा अन्य यातायात सम्पर्क विस्तार गर्न सके भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढाउन सकिन्छ ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा प्रभावकारी उपयोगका लागि प्राविधिक पक्षसँगै राजनीतिक तहबाट पनि आवश्यक निर्णय हुनुपर्ने देखिन्छ । यसमा रहेका अवरोध हटाउन सके अहिले वार्षिक तीन लाखको हाराहारीमा रहेका भारतीय पर्यटकको सङ्ख्या दोब्बर बनाउन सकिन्छ । सरकारले सन् २०२८ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा त्यस वर्षको अन्त्यसम्म भारतीय पर्यटकको सङ्ख्या तीन लाखबाट बढाएर छ लाख पु¥याउने लक्ष्यसहित काम गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिले हवाई कनेक्टिभिटी विस्तार गर्न आवश्यक छ ।

भारतका प्रमुख सहरहरू मुम्बई, दिल्ली, बैंगलोरलगायतका साथै सीमावर्ती सहर लखनउ, कानपुर, वाराणसी, बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, पञ्जाब, राजस्थान र गुजरातबाट पनि नेपालमा सिधा हवाई सम्पर्क विस्तार गर्न सकिन्छ ।

नेपाली तथा भारतीय वायुसेवा कम्पनीलाई यी सहरमा नियमित उडान सञ्चालन गर्ने वातावरण बनाउने हो भने भारतीय पर्यटकलाई नेपाल ल्याउन ठूलो कठिनाइ हुँदैन । भारतीयहरू नेपाल भ्रमण गर्न इच्छुक छन् र हामी उनीहरूलाई स्वागत गर्न तयार छौँ । तर विभिन्न व्यवस्थापकीय तथा अन्य कारणले अपेक्षित रूपमा हवाई सम्पर्क विस्तार हुन सकेको छैन । अहिले भारतबाट धार्मिक तथा तीर्थाटन, किनमेल, क्यासिनो र सांस्कृतिक गतिविधिका लागि पर्यटक नेपाल आउने गरेका छन् । यसबाहेक खेलकुद पर्यटनको सम्भावना पनि निकै ठूलो देखिएको छ । काठमाडौंमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताले नेपाल र भारतबीच खेलकुद पर्यटन विकासको नयाँ सम्भावना उजागर गरेको छ । यसलाई दक्षिण एशियाकै महत्वपूर्ण खेलकुद पर्यटन गन्तव्य विकास गर्ने अवसरका रूपमा लिन सकिन्छ । त्यसैगरी, भारतसँग माइस (बैठक, प्रोत्साहनात्मक भ्रमण, सम्मेलन तथा प्रदर्शनी) पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । भारतीय कम्पनीहरूलाई नेपालमा सभा, सम्मेलन, व्यावसायिक बैठक तथा कार्यक्रम आयोजना गर्न आकर्षित गर्न आवश्यक छ ।

डेस्टिनेसन वेडिङ अर्थात विवाह समारोहका लागि नेपाल आउने सम्पन्न भारतीय परिवारको सङ्ख्या पनि बढिरहेको छ । यी सम्भावनालाई थप विस्तार गर्न सामान्य प्रयासभन्दा फरक ढङ्गले राजनीतिक तहबाटै नीतिगत निर्णय र सहजीकरण आवश्यक छ । यसका लागि हामीले प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित सरकारी निकायमा निजी क्षेत्रका तर्फबाट आफ्ना सुझाव र धारणा राख्दै आएका छौँ । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनका लागि यसअघि गठन भएका संयुक्त समितिहरूले पनि विभिन्न अध्ययन तथा सिफारिस गरेका छन् । ती सिफारिसको प्रभावकारी कार्यान्वयन हुन आवश्यक छ । उदाहरणका लागि, भारतका सरकारी कर्मचारीले पाउने लिभ ट्राभल अलाउन्स (एलटीए) सुविधाअन्तर्गत नेपाल भ्रमण गर्न पाउने व्यवस्था गर्न सकिए ठूलो सङ्ख्यामा भारतीय पर्यटक नेपाल भित्र्याउन सकिन्छ ।

त्यस्तै, हिन्दु सर्किट र रामायण सर्किटलगायतका धार्मिक पर्यटनसँग सम्बन्धित योजनाहरू यसअघि नै विभिन्न बैठक तथा छलफलमा अघि सारिएका छन् । तर, तिनको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । अब ती योजनालाई व्यवहारमा उतार्नुपर्छ । मुख्य कुरा हवाई कनेक्टिभिटी हो । अहिले भारतका नागरिकको आर्थिक अवस्था पनि पहिलेको तुलनामा निकै सुधार भएको छ ।

सम्पन्न भारतीय पर्यटकलाई आकर्षित गर्न रेल र सडक यातायातसँगै हवाई सम्पर्क विस्तारमा विशेष जोड दिनुपर्छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जनकपुर र अयोध्याबीच रेल सेवा सञ्चालनको विषयले पनि विशेष महत्व राख्छ । यो सेवा शुरु हुन सके नेपालको धार्मिक पर्यटनमा नयाँ आयाम थपिनेछ । अयोध्या भ्रमणमा आउने भारतीय पर्यटकलाई जनकपुरसम्म ल्याएर जानकी मन्दिरमा दर्शन गराउने ठूलो सम्भावना छ । यसका लागि हानले विशेष कार्यक्रम तथा प्रवद्र्धनात्मक प्याकेज तयार गरिरहेको छ । हाम्रो लक्ष्य सन् २०२८ को अन्त्यसम्म भारतीय पर्यटकको सङ्ख्या तीन लाखबाट बढाएर छ लाख पु¥याउनु हो । यसका लागि निजी क्षेत्र पूर्ण प्रतिवद्धताका साथ काम गर्न तयार छ । तर हवाई कनेक्टिभिटीलगायतका विषयमा सरकार र प्रधानमन्त्री तहबाट आवश्यक राजनीतिक तथा नीतिगत निर्णय हुनुपर्छ । त्यसो गर्न सके नेपाल र भारत दुवै देशले लाभ लिन सक्ने विन–विन अवस्था सिर्जना हुनेछ र आर्थिक विकासमा ठूलो योगदान पुग्नेछ ।’

पर्यटन विकासमा मधेस प्रदेशको सम्भावनालाई पनि भ्रमणसँग जोडेर अघि बढाउनुपर्ने हानको धारणा छ । जानकी मन्दिरलगायतका धार्मिक स्थल, जल पर्यटन र सीमावर्ती पर्यटनको सम्भावना हुँदाहुँदै मधेसमा अपेक्षित पर्यटन विकास हुन नसकेको शाहले बताउनु भयो । अयोध्या–जनकपुर धार्मिक मार्गलाई व्यवस्थित गर्नसके मधेस प्रदेशसँगै समग्र नेपालको पर्यटनमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ ।

हानले प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्ने यी विषयलाई केवल पर्यटन प्रवद्र्धनमा सीमित नराखी आर्थिक कुटनीतिको महत्वपूर्ण एजेण्डाका रूपमा अघि सार्न आग्रह गरेको छ । शाहकाअनुसार निजी क्षेत्र भारतीय पर्यटकको संख्या तीन लाखबाट ६ लाख पु¥याउने लक्ष्यसहित काम गर्न तयार छ । त्यसका लागि हवाई कनेक्टिभिटी, नीतिगत सहजता र दुई देशबीचका पुराना सहमति कार्यान्वयनमा सरकारी तहबाट ठोस निर्णय आवश्यक छ । नेपाल आउने भारतीय पर्यटकको संख्या बढाउनु मात्रै नभई उनीहरूको बसाई अवधि लम्ब्याउने र खर्च गर्ने क्षमता तथा अवसर विस्तार गर्नेगरी पर्यटन प्याकेज विकास गर्न सके दुवै देशले आर्थिक लाभ लिन सक्ने शाहको भनाई रहेको छ ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)