भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले खाना उपलब्ध गराउन बन्द गरिएपछि विरोध प्रदर्शन गरेका छन् ।
सरकारले शुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएसँगै त्यहाँ बस्दै आएका परिवारका लागि खानाको व्यवस्था पनि बन्द गरिएको हो । यसअघि शान्ति सेवा गृहले उनीहरूलाई खाना खुवाउँदै आएको थियो ।
खाना बन्द भएपछि आक्रोशित बनेका सुकुम्बासी परिवारले शुक्रबार भवन परिसरमा थाल ठटाउँदै र प्लाकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शन चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीको टोलीसमेत होल्डिङ सेन्टर पुगेको छ । स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई शुक्रबार दिउँसो २ बजेसम्ममा उक्त स्थान छाड्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि उनीहरूले थाल ठटाएर विरोध जनाएका हुन् ।
खानाको व्यवस्था रोकिएपछि केही परिवारले आफैँ खाना जुटाएर खाएका छन् भने केही परिवार भोकै बस्न बाध्य भएका छन् ।
