शनिबार, मंसिर १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नारायणगढ–मुग्लिङ सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुँदै


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १३, २०८३
  • 52
    SHARES

काठमाडौँ । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गते आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।

पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए। काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ।

तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि अपनाएर काम अघि बढाउन लागेको हो। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि रोकथामका विभिन्न उपाय अपनाउन लागिएको कार्यालयले जनाएको छ। जसअनुसार ठूला ढुंगा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) तथा द्विआयामिक र त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिनेछ।

सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले गत असोजदेखि रोकिएको तुइनखोलाको काम पुनः अघि बढाउन लागिएको बताए। पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा आइतबारसम्म काम सकिने र सोमबारदेखि उक्त राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिँदै उनले त्यसपछि तुइनखोलाको काम सुरु गरिने बताए। “सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बाटो बन्द गरेर काम गर्नुपर्ने देखिन्छ,” शर्माले भने, “प्राविधिक मूल्यांकनपछि कति समय बन्द गर्ने भन्ने निर्णय हुनेछ, अहिलेलाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो।”

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)