शनिबार, मंसिर १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी लगानी आकर्षित गर्न नेपालमा कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शिता आवश्यक


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १३, २०८३
  • 26
    SHARES

काठमाडौं । नेपालमा अमेरिकी लगानी तथा व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख स्कट अर्बोमले नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउन व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

नेपाल–अमेरिका उद्योग वाणिज्य संघ (नुसाक्की) द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले अमेरिकी कम्पनीहरूका लागि नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्नु ट्रम्प प्रशासन र अमेरिकी दूतावासको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

अर्बोमले नेपालमा अमेरिकी कम्पनीहरूले सकारात्मक अनुभव हासिल गर्ने, सफल साझेदारी निर्माण गर्ने र व्यवसाय विस्तारका नयाँ अवसर प्राप्त गर्ने वातावरण बनाउन अमेरिका इच्छुक रहेको बताउनुभयो । नेपालमा अमेरिकी कम्पनीहरूको सफलताले अन्य अमेरिकी कम्पनीहरूलाई पनि नेपाली बजारप्रति आकर्षित गर्ने उहाँको भनाइ थियो ।

नेपालमा थप अमेरिकी कम्पनीहरूले आफ्ना नवीन प्रविधि, उत्पादन तथा सेवा भित्र्याउन सके दुवै देशका लागि आर्थिक अवसर विस्तार हुने उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा भ्रष्टाचार र प्रशासनिक झन्झट घटाउन व्यापक समर्थन देखिएको बताउँदै अर्बोमले यस अवसरको सदुपयोग गर्न अमेरिकी दूतावासले नुसाक्कीजस्ता संस्थासँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उहाँले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले बाढीबाट प्रभावित परिवारका साथै बेपत्ता भएका अमेरिकी नागरिकहरूप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल र अमेरिकाबीचको सम्बन्ध करिब ८० वर्ष पुरानो रहेको उल्लेख गर्दै अर्बोमले आगामी दिनमा व्यापार, लगानी र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताउनुभयो ।

नेपालमा आर्थिक समृद्धि तथा दुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने व्यवसायी र व्यक्तिहरूको प्रशंसा गर्दै उहाँले पुरस्कार प्राप्त गर्ने सबैलाई बधाई दिनुभयो ।

निजी क्षेत्रले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप नजिक बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै अर्बोमले आगामी दिनमा पनि व्यापारिक सम्बन्ध विस्तार र साझा समृद्धिका लागि सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

– न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)