बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’


  • माउन्टेन खबर
  • बिहिबार, असार ५, २०८२
  • 125
    SHARES

काठमाडौँ –  नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घले सञ्चालकहरूको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामा पछि पनि १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायमा पुनः ध्यानाकर्षण गराएको छ । धितो पत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार सङ्गठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको भन्दै सङ्घले धितो पत्र बोर्ड, बिमा प्राधिकरण लगायतलाई ध्यानाकर्षण गराएको हो ।

निर्जीवन बिमा व्यवसायीसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर विक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौ । कम्पनीमा कायम रहेका सबै सेयर धनी जस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै रहेको र सेयर धनीहरूको साधारण सभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा शेयर विक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौ, ।’

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका सङ्घका अध्यक्ष राजेन्द्र मल्लले ‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’ भएकाले सो प्रावधान सच्याउनका लागि आग्रह गरिएको बताउनुभयो ।

लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयर धनीको वित्तीय स्वार्थ र सञ्चालकहरूको वित्तीय स्वार्थमा कुनै फरक नरहेको सङ्घका अध्यक्ष मल्लले बताउनुभयो ।

सञ्चालकहरूले अन्य सेयर धनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरूलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको सङ्घले उल्लेख गरेको छ ।

कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताउनुभयो ।

सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत नियामक निकायलाई जानकारी दिई सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ, ।’

सेयर विक्री सम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)