बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनाको योगदान नबिर्सन उर्जामन्त्रीको जोड


  • माउन्टेन खबर
  • शुक्रबार, असार २७, २०८२
  • 310
    SHARES

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने स्पष्ट निर्देशन दिनुभएको छ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १४औँ वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खड्काले सरकारले कम्पनी मोडेलमा गठन गरेको एचआईडीसीएलले अहिलेसम्म खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न आग्रह गर्नुभयो।

उहाँले २५ मेगावाट भन्दा कम क्षमताका आयोजनालाई बाईपास गर्न नहुने उल्लेख गर्दै, “साना र मझौला आयोजनाले पनि ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिएका छन्, त्यसलाई बेवास्ता गर्न सकिँदैन,” भन्नुभयो। उहाँले नीति परिमार्जनमार्फत साना लगानी र कम मेगावाटका आयोजना समेतलाई समेट्ने कार्ययोजना बनाउनुपर्ने धारणा राख्नुभयो।

मन्त्री खड्काले ठूला आयोजना र लगानीकर्तालाई आकर्षित गर्न एचआईडीसीएलले सहजीकरणको भूमिका अझ मजबुत बनाउँदै आवश्यक परे ऋण र इक्विटीका माध्यमबाट वित्तीय अभाव समाधान गर्न निर्देशन दिनुभयो। “कसैलाई डुब्न नदिने नीति ल्याउनुपर्छ,” उहाँले जोड दिनुभयो।

त्यस्तै, मुलुकको ऊर्जा आत्मनिर्भरता र निर्यातको सम्भावनालाई साकार बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको मन्त्रीको स्पष्ट धारणा थियो। “आजको आवश्यकता अनुसार नयाँ सोच र प्रविधिसँगै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “यसले मुलुकको आर्थिक वृद्धिमा प्रत्यक्ष टेवा पुर्‍याउँछ।”

जलस्रोत राष्ट्रको प्राकृतिक सम्पत्ति भएकाले यसको वैज्ञानिक र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्रीले जलविद्युत् परियोजनाहरूको समयमै सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण सिर्जनामा नीतिगत सुधारलाई अघि बढाइरहेको जानकारी दिनुभयो।

मन्त्री खड्काले ऊर्जा क्षेत्रमै थप लगानी भित्र्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राख्दै, “स्रोत र खनिजको सदुपयोग गरेर मात्रै देशलाई समृद्धिको बाटोमा लयाउन सकिन्छ,” भन्नुभयो, “ऊर्जा क्षेत्र आफैं बैंकको बैंक बन्न सक्छ।”

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापाले कम्पनीको प्रगति र भावी योजनाबारे प्रस्तुतीकरण गर्नु भयो।
कार्यक्रममा एचआईडीसीएलका अध्यक्ष समेत रहनु भएका ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीको १४ वर्षे यात्रामा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत थापाले पछिल्ला आर्थिक वर्षका गतिविधि र आगामी योजनाबारे प्रस्तुति दिनुभएको थियो।

त्यस्तै विद्युत नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धिताल, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलगायत वक्ताहरूले पनि ऊर्जा क्षेत्रमा लगानी विस्तार, परियोजनाको समयमै कार्यान्वयन र प्रविधि रूपान्तरणका विषयमा आ–आफ्ना विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई प्रमुख अतिथि मन्त्री खड्काबाट सम्मानित गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)