आस्वादन–प्रत्यास्वादन भित्तेघडी र विजय मल्ल
“मानिस : म असहिष्णुता, निरङ्कुशता, पराधीनताको माझमा पनि निरपेक्ष भएर बाँच्न सक्छु ।”
नाटकमा पुनः एक जमर्को अस्तित्वको स्वर लिएर देखा पर्छन् नाटकार विजय मल्ल । विसङ्गत परिवृत्तिको अन्तरता प्रस्ट्याउँछन् नाटककार विजय मल्ल, अनि सिङ्गै समयलाई स्वाभावीकृत सापेक्षमा परिमापन गर्न पुग्छन् नाटककार विजय मल्ल । वस्तुतः मल्लको प्रस्तुत कृति नाटकभन्दा समयसन्दर्भको सामाजिक सर्वाङ्गीण अन्त ‘स्व’ हो, यस सन्दर्भमा उनी वेकेट समीप छन्, इब्सेनको स्वत्वमा छन् र ओनिलजस्ता नवीन प्रतीत छन् । लाग्छ, अब उनको नाटकीय मनोविज्ञानले दोस्रो आयाम प्रवेश गरेको छ ।
‘जिउँदो लाश’, ‘बहुलाकाजीको सपना’, ‘स्मृतिको पर्खालभित्र’ आदि नाटक एकाङ्कीबाट मानवीय अन्तरको उदात्तीकरण गर्ने नाटककार मल्ल सूक्ष्मतातिर गहिरिँदै गएका छन् । प्राकृतिक वस्तु संवद्र्धनमा मानव स्व र संदिग्धताको स्थानान्तरित स्थापना गर्न कुशल मल्लले ‘भित्ते घडी’मा मनको अन्तरकुन्तरका अवयवलाई सहज सङ्ग्रहण गरेका छन्् । नेपाली नाटक परम्पराको वेगल प्रवृत्ति, छुट्टै स्थापना र मानवीय प्रकृतिका एकाग्र रूप नै लाग्छ– यस घडीका मल्ल हुन् र स्वाभावीय संस्मरण र त्यसको क्रियागत गवेषणमा मल्लको आफ्नै रीति छ । जीवन अभिव्यक्त÷अद्र्ध अभिव्यक्त छ ।
उनका प्रयोगमा जसको सरल अनुभूति छामिनु त्यसमा पनि सरलताको निर्वाह हुनु र नाटक, नैबन्धिक वस्तु सङ्गठनहीनता नजिक रहनुमा अत्याधुनिक एन्टिक्लाइमेक्स चित्रकला तथा विसङ्गत परिवृत्तिको प्रभाव छ भन्न सकिन्छ । कलाका सम्पूर्ण विधाहरू एकै रूपमा निर्वाहित हुनु समय, जीवन र कलाको त्रिकोणीय सह–सम्बन्धको कारण हो । विजय मल्ल नेपाली नाटक परम्परामा यसरी यी तीनै बिन्दुहरूलाई समाउन पुग्छन् कि सबै कोणका दृष्टि वैशिष्ट्य भैकन तिनैको संयोजन सहजता त्यस दृष्टिमा सन्निहित हुन्छ । ‘भित्ते घडी’ र ‘नाम नभएको मानिस’ सङ्ग्रहभित्रका प्रतिनिधि एकाङ्की हुन् । ‘यो कस्तो दन्त्यकथा ?’ र ‘प्रतिविम्ब’ यी दुईटा पृष्ठपोषकजस्ता मात्र लाग्छन् ।
‘नाम नभएको मानिस’मा भावगत शून्यता छ । नाटकपात्र मानिस सम्पूर्ण मानिसकै प्रतिनिधित्व गर्न खोज्छ । आफ्नो नाम र नामगत सत्कर्मता भुल्दै गएको दिग्भ्रान्त पथिक हो । सोचाइवृत्तिमा यति निरुक्तता छाइसकेको छ कि ऊ सबै मानिस र वस्तुमा सापेक्ष दृष्टि निर्वाह गर्न थालिसकेको छ । भित्ता उसको दृष्टिमा अब मानिसको अस्तित्वको पर्याय वा अस्तित्वविनाशको शङ्का प्रतिमान छ । त्यसैले ऊ आफूलाई नामहीन भएर बाँचेको पाउँछ । ऊ आकारको पर्याप्त मानव जगत्लाई सोच्छ, निरपेक्ष भएर बाँचेको छ, बाँच्नुको साŒिवकता क्रान्ति गुमाएपछि सार्थकता स्वयमेव नष्ट छँदै छ । त्यसले नामेट मान्छे, प्रतिनिधि मानिस भित्ता मानिस, स्वास्नी मानिस, विश्वास तथा प्रेमबाट निरुक्त र निरपेक्ष पनि छ ऊ भन्छ–
मानिस ः (केहीबेर आँखा चिम्लिन्छ र अकस्मात् चिच्याउँछ)
लौ हेर्नुस् भित्ताहरू सर्दै आइरहेछन्, सर्दै आइरहेछन् । लौ मलाई छुन लागिसके, लौ माथिबाट दलिनहरू पनि झर्दै आइरहेछन्, लौ मलाई किच्न लाग्यो, किच्न लागे भित्ताहरूले, किचे किचे मलाई, म किचिएँ, किचिएँ (भुइँमा पछारिन्छ) ।
बाहिर खुल्ला ठाउँमा समेत या त विशाल आकाश घोप्टेर खसेजस्तो हुन्छ, या त पृथ्वी नै चरचरी चिरिएर फाटिन थाल्छ । यस्तो होला भन्ने डरले त्रासले म सधैँ भागिरहन्छु तर मलाई लखेटेर निल्न किच्न समाउन खोजिरहन्छ । …… मेरो अस्तित्वको प्रश्न छ डाक्टर ….. मैले आफ्नो नाम बिर्सेर आफूलाई बिर्सन खोजेँ ।
ऊ आफैबाट विषयान्तर बन्ने क्रममा पातलिँदै गएको छ । उसभित्रको मनोगत मान्छे क्रमशः थिग्रँदै गएको छ । यसो हुनु अस्तित्वको प्रश्नले हो र ? अस्तित्वको वरिपरि घुमिरहन्छ । ऊ जति टाढा बन्न खोज्छ अस्तित्वबाट अस्तित्वबोध झन् गाढा बन्दै जान्छ । नाटककारले मानव मन जसो गरे पनि ‘अस्मि’तिर बृहत्तर गाढा बन्दै गइरहन्छ भन्ने मनोवैज्ञानिक सत्यलाई विश्लेषित स्वरूप दिएका छन् ।

मानिस पात्र वस्तु र विषयमा संत्रस्त र शङ्कालु छ । यतिसम्म कि श्रीमती सुत्दा पनि घाँटी निमोठी मारिदिने हो कि भन्ने शङ्का गर्न पुग्छ । ऊ स्वास्नीलाई विश्वास सुम्पन सक्दैन । अस्तित्वको संरक्षणमा कसैलाई विश्वास गर्न सक्दैन । अस्तित्व आफू अन्तरमा पनि किमार्थ विश्वासयोग्य विषय होइन । त्यो त्याज्य र स्वीकार्य केही पनि होइन र पनि दुवैको बीचबाट बग्दै जानु त्यसको प्रवृत्ति हुन्छ । प्रतिरूपित मानिस यस्तै यस्तै हो । केवल, निषिद्ध निरुक्तता नै उसको क्रमागत हो बाँच्ने एक प्रवृत्ति ।
यस भित्रकी पात्रा सुनिता पनि ‘मानिस’ सापेक्षित लाग्छे । प्रेमी स्वतन्त्रता सुनिताको आत्मोसर्गित मात्र भएको थियो र क्षत्री वर्गकी सुनिताले भोटे सोनाम ग्याल्भोसँग प्रैमिक संसर्ग र बसउठ गरेकी थिई तर जातीय प्रश्नका आधारमा ऊ यसबाट पर सर्न बाध्य भई । फलतः विचलित सुनिता आत्मस्वेच्छानुकूल खोज गर्छे तर ‘नाम नभएको मानिस’ झैँ वृत्त–परिवृत्त निरूक्त भइसकेकी छैन । दुई विचारको द्वन्द्व पनि देखा पर्छ । नाटककार विजय मल्लले विषयान्तरित पात्रको चयन र विश्लेषित अनुभूतिको प्रयोगसाम्यता पहिल्याएकोले विचार सम्प्रेषण र अभिव्यक्ति मूल्यमा सहजीकृत छन्् ।
वस्तुतः बाँच्नु एक अस्तित्वबोध हो । आजको मानिसको परिवृत्त यसतर्फ गाढा हुँदै गएको छ । अस्तित्वबोधलाई समाएर भित्तोसँग जुध्ने प्रयत्न गर्नु अन्तःस्व र अस्तित्वको आवयविक द्वन्द्व हो । नाम नभएको मानिसको क्रियाशीलता र सुनिताको मनोरुग्णता यस प्रसङ्गमा टिपिएका दुई अर्धअभिव्यक्त अभिव्यक्तिमात्र हुन् । ‘नाम नभएको मानिस’ खुल्ला आकाश मुनि पनि सन्त्रस्त छ । सुनिता नीलो आकाशको कामना गर्छे । ‘मानिस’ यति सन्त्रस्त बन्नु र सुनिता झ्यालबाट हामफाल्नु अस्तित्वको लागि सङ्घर्ष मात्र हो ।
व्यवहृत क्रियात्मक कृत्यहरू; प्रायोगिक संवाद–स्मरण आफू पलायनका प्रतीक हुन् जहाँबाट नाटकीय केन्द्रीय सङ्गठनको धिमा परिवृत्तिको महसुस गरिन्छ । सम्पूर्णता विश्लेषित गरिन्छ । सुनिता प्रेमसम्बन्धी धारणामा नारीसुलभ उदात्त रहन्छे तर मानिस प्रेमक्षुधा छ र नफरत गर्छ नारीलाई, ऊ बौद्धिक पनि लाग्छ र भन्छ– मानिस… … कुनै पनि व्यक्तिले कसैको प्रेममा आफूलाई बलिदान दिन सक्दैन । मानिस नारी प्रेममा विश्वप्रेममा अस्तित्व निर्मूल छ, नामेट गर्ने कुरामा विश्वास गर्न सक्दिन— भित्ता–भित्ता–भित्ता ।
यसरी नारीप्रतिको नफरत पनि अस्तित्वको लागि छ । प्रेमसम्बन्धी तिरस्कार पनि ‘अस्मि’ संरक्षणकै लागि हो । तिरस्कार, घृणा, सब लिएर, सबसँग निरपेक्ष भएर पनि अस्तित्व बाँचेको हुन्छ, ‘नाम नभएको मानिस’ वस्तुतः अस्तित्व र स्वगत आत्मानुभूतिलाई स्नायविक विचलनको रूपमा ग्रहण गर्न बाध्य छ । सिङ्गै नाटकमा नाटककारले भित्तालाई प्रतिमान गर्न खोजेका छन् । त्यसैले ‘भित्ता’ नाटक र ‘नाम नभएको मानिस’ केवल प्रतीकमा अभिव्यक्त छन् ।
नाटकमा यथार्थतालाई परिभाषित गर्नु मल्लको एकै सिद्धान्त देखा पर्छ । दिग्भ्रान्त, मनोयथार्थता जुन आज सापेक्षित कुरा हो यसैका पक्षपाती छन् मल्ल । यसको जैवनिक दृष्टिमा पनि नितान्त नौलो प्रयोग छ । वस्तुतः सामान्यतया थालिन्छ, अन्तमा त्यसैभित्र गहिरिएर हेरिन्छ । ‘नाम नभएको मानिस’ को मानिस पात्र कारणहीन नाट्यवर्तमा शृङ्खलित छ । ‘प्रतिविम्ब’की स्वास्नी मानिस यस्तै मनोदशामा स्वयम् विश्लेषित छ भने ‘त्यो कस्तो दन्त्यकथा’की राधा र गोविन्द मानवधर्म र प्रेमकै लागि समर्पित छन् ।
‘नाम नभएको मानिस’को सर्वसंदिग्धता, प्रतिविम्बका शृङ्खलित नारी मनोदशा र त्यो कस्तो दन्त्यकथाको विषयको रूपमा प्रक्षेपित कुराहरू अन्तःस्वकै खातिर भएका हुन् ।सबैमाअस्तित्वबोधकोपराकाष्ठाछ।प्रतिविम्बकीस्वास्नीमानिससंदिग्धताकीप्रतीकबन्नुदन्त्यकथाकीराधा, राक्षस, धर्मनष्टका लागि आफू विषमा समर्पित हुनु तथा ‘नाम नभएको मानिस’ स्नायविक रिक्ततामा देखा पर्नु नामेट मानव सत्ताको पुनः संवद्र्धनका लागि आग्रह हो, मानवधर्म छाड्न कसैको अधिकार छैन भन्नु हो । विसङ्गत अवसादिता नै नामेट पार्नु हो ।
विजय मल्लको प्रयोग यथार्थ सान्निध्य रहेर परम्पराको विद्रोही स्व सुसेल्न पुगेका छन् । जिउँदो यथार्थलाई पन्छाएर मानिस समयधारमा दौडिरहेको छ तर जिउँदो यथार्थता मानव ‘स्व’को पर्यायको रूपमा हेरिनुपर्छ । आत्मसत्ता नै जीवनसत्ता हो, आत्म भुल्ने पथिक भ्रान्ति हो । त्यसैले ओनिलले झैँ मल्लले अन्तद्र्वन्द्व समाए । त्यसैले उनको नाटकीय परिवृत्ति आत्मचरित्रात्मक रहेको छ । जीवननिष्ठामा आधारित रहेको छ मनोवैज्ञानिक यथार्थवादमा सम्पूर्ण मल्लको नाटकमा अस्तित्व छ ‘भित्तेघडी’ यस्तै एक कुशाग्र प्रयोग हो, यहाँका पात्रहरू कोणीय दूरीमा रहेका छन्, यहाँका प्रवृत्तिहरू विभेद आवृत्तिमा घुमेका छन्, केन्द्रीय चरित्र–आत्मसत्ताकै वरिपरि घुमेको छ । उनी सबैजसो पात्र रोगीलाई लिन पुग्छन्, कोही मनोरोगी र कोही शरीररोगी ।
‘भित्तेघडी’को अखण्ड शरीर रोगी पात्र हो– ऊ बाँच्नुको एउटा भ्रम पालेर बाँचेको लाग्छ– ‘म आफैप्रतिको प्रेतात्माजस्तो छैन अब ? ….. ….. मलाई सधैँ भोलिपल्ट बिहान उठ्न पाउँला कि नपाउँला भन्ने त्रासले सताइरहेको हुन्छ’ भन्छ । माधव दार्शनिक दृष्टिकोण राख्दछ हर चीजमा । व्यक्ति सबै व्यक्तिको प्रतीक प्रतिमान गर्न खोजिएको जँड्याहा पात्र हो । भित्तेघडी रेष्टुराँभित्र कोही हनिमून मनाउन, कोही स्न्याक्स लिन, कोही समाचार लेख्न आउँछन् । एक दिन यस्तै जमघटमा कुनै शान्त टापूमा बम विस्फोटन गरिएको आशङ्कामा रेष्टुराँ घेरिन्छ र सबैलाई गिरफ्तार गर्ने धम्की दिइन्छ, आखिर समाचार नै भ्रम हुन्छ र कोही पनि समातिन्न, यत्ति हो यसको कथावस्तु । भौतिक सम्पन्नता संत्रस्तताको साथ विकसित छ । उनका अरू नाटकले झैँ यसले पनि यसै भन्छ । व्यक्तिमा एव्सर्डिटि छ, ऊ भन्छ—
व्यक्ति ः किन नगर्नु ठट्टा ? मर्नदेखि डराउनेहरू रुनु क्या ?
हामी किन डराउँछौँ ? म मर्नदेखि डराउन्न । चारचोटि मैले आत्महत्या गर्न कोशिस गरिसकेँ तर मरिन ? अब मैले मर्ने चेष्टा नै गर्नुपरेन अर्कैले गोली हानेर मारिदिन्छ । आहा ! कति मज्जा, कति आनन्द, कति रमाइलो ।’
व्यक्ति ः (हाँसेर) रोऊ–रोऊ, खुब रोऊ । अझ चिच्याएर रोऊ । मलाई खुब मज्जा आउँछ । यो ह्वीस्की पिएको भन्दा बढी मज्जा आउँछ ।
आधुनिकता मानिसमा असीमित रिक्तताबोध छ, अस्तित्वबोधले पिरोलेको छ, निस्सारता छ, जसको वृत्तात्मक अभिवृत्ति मल्लका नाटक हुन् । उनको नाटकीय केन्द्रता नै अस्तित्वबोधमा अन्तद्र्वन्द्वित मान्छे हो । उनी यसमा सूक्ष्मसम्म गहिरिएर मनका चेत–अवचेत तहको व्याख्या र विश्लेषण गर्छन्, स्वैच्छिक उडानमा मनोवैज्ञानिक ‘एब्सर्डिटि’ फाल्ने प्रबल आधार खोजिएका छन्– त्यसैले ती प्रायोगिक छन् ।
- युवराज मैनाली
