चुरोट
कहीले देखि आएँ म यो भवसागरमा भनी सम्झन खोजें । सम्झन नै सकिन । तर शुरु देखि इज्जत दिएर मानिसहरूले प्रयोग गर्दै ल्याएको छ । देश अनुसार, मानिसहरूको विचार अनुसार मेरो नाउँ, जात पनि फरक फरक हुँदै गइरहेको छ ।
पहिले हिन्दी सिनेमामा मलाई मुखमा च्यापेर धुवाँ छोडेर हीरोहरूले सुपरहिट सीन दिथ्यो । ठूला ठूला कार्यक्रममा जाँदा पनि मलाई च्यापेर लग्दथे।
२१ औं शताब्दीमा पनि संसारभरी विभिन्न नामबाट घुमिरहेको छु । हेर्नुस्, संसारमा आएदेखि हरेक वर्गका मानवका सुख र दुःखका साथि भएँ । कुरो यतिमात्र हैन, आज म तपाइँहरूलाई मेरो मनका ब्यथाहरू पोख्न गइरहेकी छु ।
खास कुरो के भने, नेपालमा मेरी एउटा मायालु थिइन्। उनीले मलाई हातमा लिन्थिन् तर कहिले पनि माया गरी मुखमा हालिनन्।
वा …… क्या गजब ! कस्तो संजोग जुर्यो भने अमेरीकामा यताउता घुमिरहँदा मेरी नेपालकी मायालु धेरैजसो बस स्टपमा पर्खीरहेकी देखें । उनीलाई देख्दा हर्षले बिभोर भएँ । तुरुन्तै मैले विचार र अठोट पनि गरें । एकदिन म तिम्रो अगाडी आएर बस्ने छु । फेरि अमेरिकामा जुनसुकै ठाउँमा मलाई प्रयोग गर्नु हुँदैन ।
“ढुङ्गा खोज्दा देउटा भेट्यो” भने जस्तै भगवानले मेरो ईच्छा पूरा गरि दिए । एकदिन उनी बस स्टपमा बसीरहँदा एउटा नवयुवकले मलाई मुखमा च्यापेर आनन्द लिई बसीरहेका थिएँ । त्यहीबेला बस आयो । त्यसैले मलाई हतार हतार सडकमा नै फ्याँकेर गयो । उसले फ्याँक्दा सारै चित्त दुख्यो । मन मनै लामो सास फेरी सुस्केरा हालें । मेरो मनमा के बितीरहेको छ होला भन्ने नै मतलब नगरेर उनीले मलाई गिजाएर मुसुक्क हाँसेर भनीन्— “देख्यौ, तिमीलाई बाटोमा नै फ्याँकेर गयो, कस्तो छ !”
उनको त्यो कटाक्षपूर्ण शब्दलाई जवाफ दिन नपाउँदै एकजना भलाद्मीले मलाई खुट्टाले कुल्चेर निभाई दियो । यो दृश्य देखेर उनी झन् धेरै मुसुमुसु हाँसी ।
“खुचिङ्ग ! अलि पुगेन” भनिन्। उनको मप्रतिको तिरस्कारपूर्ण ब्यवहारले त म मरी सक्दापनि मेरो मन धेरै रोइरहन्थ्यो ।

भगवानले मेरो आँशुको बलिन्द्र धाराको महसुश गरेछन् कि कुन्नी त्यही समयमा एउटा युवकले टिपेर बालेर मुखमा राखें । फेरि आफ्नो ठाउँमा सानसँग बस्न पाइको खुसीमा मैले उनीलाई भने— “तिमीले मलाई मन नपराएर के भयो त ! अरुले मलाई कति मनपराउँछन् …… देख्यौ ? ”
के फुइँ गर्छौ …… मान्छेले मुखमा राखेर पिउन पुगेपछि जमीनमा फ्याकेर खुट्टाले कुल्चेर, वा हातले थिचेर, मर्नुपर्ने चुरोट त हो नि तिमी भनी मुसुमुसु हास्दै मलाई जवाफ दिईन ।
-रीतादेवी प्रधान
