बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल–भारत सम्बन्धलाई विकास र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्छ: सभापति लामिछाने


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • 100
    SHARES

काठमाडौँ –  भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्त्वपूर्ण आधार भन्दै सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताएका छन् ।

 

 

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा मङ्गलवार प्रकाशित लेखमा लामिछानेले उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन् । ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने बताएका छन् ।

‘हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौँ । हाम्रो एक मात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,’ उनले लेखमा उल्लेख गरेका छन् ।

नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक विवादबाट निकालेर विकास र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उनको धारणा छ ।

लेखमा लामिछानेले नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिकामार्फत आएको शान्तिपूर्ण क्रान्ति’ को संज्ञा दिएका छन् ।

उनले रास्वपाको उदयलाई नेपालको नयाँ राजनीतिक यथार्थ भन्दै पुराना राजनीतिक दलहरूले सिर्जना गरेको अविश्वास र असन्तुष्टिको विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।

लामिछानेले नेपाल र भारत दुई छिमेकी मुलुक नभई साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका साझेदार भएको उल्लेख गरेका छन् ।

उनले रामायणको कथा जनकपुर र अयोध्या जोडिएपछि मात्र पूर्ण हुने, पशुपतिनाथ र केदारनाथ तथा लुम्बिनी र बोध गयाबिचको सम्बन्धले साझा सभ्यताको आधार निर्माण गर्ने उल्लेख गरेका छन् ।

रेलदेखि आईआईटी र एम्ससम्मको प्रस्ताव उनले अघि सारेका छन् । लामिछानेले भारतको तीव्र आर्थिक विकासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहकार्यको प्रस्ताव गरेका छन् । उनले १५० किलोमिटर लामो प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण भए नेपाल–भारत व्यापार, पर्यटन र सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने बताएका छन् ।

साथै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुमा सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

लेखमा उनले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थानहरू आईआईटीर एम्सजस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सहकार्य गर्न आह्वान गरेका छन् ।

त्यस्तै, काठमाडौँ–बेंगलुरु डिजिटल करिडोर, प्रविधि प्रयोगशाला, स्टार्टअप इन्क्युबेसन सेन्टर, फिनटेक र डिजिटल भुक्तानी प्रणालीमा सहकार्य गर्न भारतलाई आग्रह गरेका छन् ।

नेपालको जलविद्युत् सम्भावना भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जाको स्रोत बन्न सक्ने उल्लेख गर्दै लामिछानेले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन् ।

सीमामा रहेका प्रशासनिक अवरोध हटाएर आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ ।

पर्यटन क्षेत्रमा जनकपुर, लुम्बिनी र बोधगयालाई जोड्ने धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट विकास गर्नुपर्ने धारणा पनि उनले राखेका छन् ।

 

भारत भ्रमणका बेला भारतीय पत्रिकामा प्रकाशित लेखमार्फत् रविले नेपाल–भारतबीचको सहकार्यका लागि राखेका प्रमुख ८ प्रस्ताव यस्ता छन्–

१. सीमा विवाद समाधानका लागि संवादमा जोड

नेपाल–भारत सम्बन्धको आधार विश्वास हुनुपर्ने बताउँदै लामिछानेले सीमा लगायतका विवादलाई अल्झाइराख्नु नहुने बताएका छन् । उनले अतिराष्ट्रवादी भाषणको आलोचना गर्दै ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा संवादमार्फत विवाद समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

लेखको अन्त्यमा उनले सन् २०१४ मा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमालाई ‘अवरोध होइन, पुल’ बनाउने दृष्टिकोण प्रस्तुत गरेको स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई विगतका आशंका होइन, साझा भविष्यका सम्भावनाले परिभाषित गर्नुपर्ने बताएका छन् ।

२. रक्सौल–काठमाडौं रेललाई प्राथमिकता

लेखमा लामिछानेले नेपाल–भारत सम्बन्धमा सबैभन्दा महत्वपूर्ण आर्थिक परियोजनाका रूपमा प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गलाई अघि सारेका छन् । भारतले दैनिक करिब १५ किलोमिटर रेलमार्ग निर्माण गरिरहेको उल्लेख गर्दै उनले १५० किलोमिटरभन्दा कम दूरीको रक्सौल–काठमाडौं रेलमार्ग सम्पन्न भए व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने बताएका छन् ।

उनले नेपालले केवल सीमा जोड्न नभई रेलमार्फत सम्पूर्ण अर्थतन्त्र जोड्न चाहेको उल्लेख गरेका छन् ।

३. पोखरा र लुम्बिनीबाट भारतमा सीधा हवाई उडान

लामिछानेले नेपाल–भारत हवाई सम्पर्क विस्तारको नयाँ एजेन्डा पनि अघि सारेका छन् । उनले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय शहरमा सिधा उडान सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

४. ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ को अवधारणा

सूचना प्रविधि क्षेत्रमा भारतसँग सहकार्य बढाउन उनले ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ निर्माणको अवधारणा अघि सारेका छन् ।

डिजिटल भुक्तानी, फिनटेक र सीमापार डिजिटल प्लेटफर्ममार्फत दुवै देशका साना उद्यमीलाई सशक्त बनाउन सकिने उनको भनाइ छ ।

५. भारतीय शैक्षिक तथा स्वास्थ्य संस्थाहरू नेपालमा बिस्तार

भारतका आईटी कम्पनी, स्टार्टअप र विश्वविद्यालयलाई नेपालमा नवप्रवर्तन प्रयोगशाला, इन्क्युबेसन सेन्टर र प्रविधि हब स्थापना गर्न आह्वान गर्दै उनले नेपालको युवा जनशक्ति, स्वच्छ ऊर्जा र डिजिटल पूर्वाधारलाई भारतीय प्रविधि पारिस्थितिकीसँग जोड्नुपर्ने बताएका छन् ।

लामिछानेले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थाहरू नेपालमा विस्तार गर्नुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् । उनले नेपालमा इन्डियन इन्सटिच्युट अफ टेक्नोलोजी (आईआईटी) र अल इन्डिया इन्सटिच्युट अफ मेडिकल साइन्सेस (एम्स) जस्ता संस्थाहरू स्थापना गर्न सकिने बताएका छन् ।

६. सीमा क्षेत्रमा रासायनिक मल उद्योग प्रस्ताव

भारतको गुजरात राज्यको औद्योगिक विकासबाट प्रेरणा लिँदै नेपाल–भारत सीमा क्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न तत्काल सहकार्य गर्न सकिने प्रस्ताव समेत गरेका छन् । ‘हामी गुजरातको औद्योगिक पूर्वाधारबाट प्रेरणा लिन्छौं । त्यसैबाट सिकेर नेपाल–भारत सीमाक्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न तत्काल सहकार्य गर्न सकिँदैन र ?’ उनले भनेका छन् ।

यो प्रस्ताव केवल उद्योग स्थापना मात्र नभई नेपाल–भारत सम्बन्धलाई कृषि उत्पादन, आपूर्ति शृंखला र आर्थिक विकाससँग जोड्ने सोचको हिस्सा भएको उनको धारणा छ ।

७. जलविद्युत् र ऊर्जा बजार एकीकरणमा जोड

रविले नेपालको जलविद्युत् सम्भावनालाई भारतका औद्योगिक करिडोरसँग जोड्नुपर्ने उल्लेख गरेका छन् । उनले खण्डित सीमापार व्यापारको सट्टा एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ ।

उनले आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी), सहज ट्रान्जिट प्रणाली र व्यापारिक अवरोध हटाउन पनि जोड दिएका छन् ।

८. आईपीएलमा नेपाली खेलाडी र रंगशालाको सहभागिता

लेखमा लामिछानेले नेपाल–भारत सम्बन्धलाई केवल राजनीति र कूटनीतिमा सीमित नराखी खेलकुदसम्म विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

खेलकुद क्षेत्रलाई समेत नेपाल–भारत सहकार्यको सम्भावित क्षेत्रका रूपमा उनले प्रस्तुत गरेका हुन् । हालै आईपीएल फाइनल हेरेको उल्लेख गर्दै उनले भविष्यमा नेपाली खेलाडी मात्र होइन, नेपाली रंगशालासमेत आईपीएल फ्रेन्चाइज संरचनासँग जोडिन सक्ने सम्भावनाबारे सोचिरहेको बताएका छन् ।

नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘ब्यालट बक्स क्रान्ति’ को संज्ञा दिँदै उनले नेपाल नयाँ राजनीतिक यथार्थतर्फ अघि बढिरहेको बताएका छन् । उनले नेपालमा रास्वपाको उदयलाई पुरानो राजनीतिक संरचनामाथिको चुनौतीका रूपमा व्याख्या गर्दै नयाँ पुस्ताले विकास, सुशासन र प्रत्यक्ष जवाफदेहितामा आधारित राजनीति रोजेको दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)