बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पशुपति क्षेत्रलाई विश्व स्तरीय धार्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २७, २०८३
  • 206
    SHARES

काठमाडौँ – कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईँ ले पशुपति क्षेत्र विकास कोषलाई सुशासन, पारदर्शिता, धार्मिक अनुशासन र आध्यात्मिक पुनर्जागरणको केन्द्रका रूपमा रूपान्तरण गर्न सक्षम, निष्ठावान् र राष्ट्रसिवामा समर्पित नेतृत्व आवश्यक रहेको बताएका छन् ।

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लक्षित गर्दै उनले पशुपति क्षेत्रलाई केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई राष्ट्रिय नैतिक चेतना, सदाचार प्रवर्द्धन तथा विश्व स्तरीय धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन र संरचनात्मक सुधार आवश्यक रहेको उल्लेख गरेका हुन् ।

उनका अनुसार पशुपति क्षेत्रको वर्तमान व्यवस्थापन प्रणालीलाई समयानुकूल सुधार नगरी यसको दीर्घकालीन संरक्षण, प्रभावकारी सञ्चालन र संस्थागत शुद्धता कायम गर्न कठिन हुने अवस्था रहेको छ । विगतमा देखिएका अनियमितता तथा भ्रष्टाचारका घटनाले यस पवित्र संस्थाको प्रतिष्ठामा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले अब पूर्ण पारदर्शिता, उत्तरदायित्व र शून्य सहनशीलताको नीति आवश्यक रहेको बताएका छन् ।

हुमागाईँले पशुपति क्षेत्रलाई राष्ट्रिय सदाचार अभियानको केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राख्दै राज्यका उच्च पदाधिकारीदेखि प्रशासनिक संयन्त्रसम्मलाई नैतिक जिम्मेवारी बोध गराउने कार्यक्रम पशुपतिनाथ परिसरबाटै सुरु गर्न सकिने उल्लेख गरेका छन् ।

उनले आफूले कोषको सदस्य–सचिव पदका लागि आवेदन दिएको जानकारी दिँदै नेतृत्व पाए कुनै पनि प्रकारको सरकारी सुविधा, तलब, भत्ता वा सवारीसाधन नलिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार कोषबाट प्राप्त हुने सम्पूर्ण भेटी, दान तथा शिवस्व रकम धार्मिक, सामाजिक तथा परोपकारी कार्यमा मात्र प्रयोग गरिनेछ र व्यक्तिगत लाभका लागि कुनै पनि अवस्थामा प्रयोग गरिने छैन ।

पूजा व्यवस्थापनतर्फ उनले पशुपति क्षेत्रभित्र रहेका सबै मन्दिर, पीठ तथा देवस्थलहरूमा नित्य, पर्व तथा विशेष पूजा परम्परागत विधिअनुसार व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना प्रस्तुत गरेका छन् । वासुकिनाथ, गुह्येश्वरी, भुवनेश्वरी, विश्वरूप लगायत सम्पूर्ण देवस्थलमा नियमित पूजा सुनिश्चित गरिने, शिव लिङ्गमा जल, पञ्चामृत र बेलपत्र अर्पणलाई निरन्तरता दिइने तथा पूजा सामग्रीको शुद्धता र पवित्रता कायम राख्न वैज्ञानिक परीक्षण प्रणाली लागू गरिने उनको भनाइ छ ।

त्यसै गरी बागमती नदीको पवित्रता कायम गर्न सुन्दरी जलबाट शुद्ध जल आपूर्ति प्रणाली व्यवस्थित गर्ने तथा धार्मिक अनुष्ठानमा प्रयोग हुने दूध, दही, घिउ, मह र सखरजस्ता सामग्रीको गुणस्तर सुनिश्चित गर्न नियमित परीक्षण प्रणाली लागू गरिने योजना पनि उनले अघि सारेका छन् ।
भक्तजनको दर्शन व्यवस्थालाई उनले भेदभावरहित, सहज र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्। लाम व्यवस्थापनलाई आधुनिक प्रणालीमा रूपान्तरण गर्ने, नित्य दर्शनार्थी परिचयपत्र प्रणाली लागू गर्ने तथा भक्तजनलाई सम्मानजनक सेवा प्रदान गर्ने उनको प्रस्ताव छ । विदेशी भक्तजनका लागि परम्परागत शुद्धीकरण तथा विधिअनुसार दर्शन व्यवस्था मिलाइने तथा धार्मिक संस्थाबाट मान्यताप्राप्त परिचयपत्र भएका भक्तजनलाई समान व्यवहार सुनिश्चित गरिने उल्लेख गरिएको छ ।

आर्थिक सुधारतर्फ उनले पशुपति क्षेत्र विकास कोषलाई आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्य अघि सारेका छन् । भेटी, दान तथा अन्य आर्थिक कारोबारलाई पूर्ण डिजिटल र पारदर्शी प्रणालीमा रूपान्तरण गरिने, अनियमितता नियन्त्रण गरिने तथा सम्पत्तिको वैज्ञानिक र दीर्घकालीन व्यवस्थापन गरिने उनको योजना छ । भाडामा दिइएका धर्मशाला, पसल तथा संरचनाहरूलाई प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत सञ्चालन गरिने तथा अनधिकृत आर्थिक गतिविधिहरू पूर्ण रूपमा नियन्त्रण गरिने उनले उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधार विकासका सन्दर्भमा उनले पशुपति क्षेत्रभित्र रहेका जीर्ण अवस्थामा पुगेका मन्दिर, देवालय, धर्मशाला, पाटी तथा सत्तलहरूको पुनर्निर्माण तथा संरक्षणलाई प्राथमिकतामा राखिने बताएका छन् । पुरातात्त्विक मापदण्डअनुसार संरचना संरक्षण गरिने तथा विश्व सम्पदा क्षेत्रको मापदण्डअनुसार विकास अघि बढाइने योजना उनले प्रस्तुत गरेका छन् । वन काली धर्मशालालगायत लामो समयदेखि बन्द रहेका संरचनाहरू पुनः सञ्चालनमा ल्याइने तथा उपयोगविहीन सम्पत्तिलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा उपयोग गरिने उल्लेख गरिएको छ ।

धार्मिक पर्यटन विस्तारका लागि उनले पशुपतिनाथलाई विश्व हिन्दु तीर्थ तथा धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको बताएका छन् । विश्वभरका हिन्दु समुदाय, गैर आवासीय नेपाली तथा धार्मिक संस्थाहरूसँग सहकार्य विस्तार गर्ने, अनलाइन पूजा सेवा विकास गर्ने तथा विदेशमा पशुपति समन्वय समिति गठन गर्ने योजना समेत उनले प्रस्तुत गरेका छन् ।

सामाजिक तथा धार्मिक परिचालनतर्फ उनले पशुपति क्षेत्रलाई केवल पूजा स्थल मात्र नभई सामाजिक सेवा, मानवता र सांस्कृतिक एकताको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् । आरती, यज्ञ, भन्डारा, गौ सेवा, योग, ध्यान, प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरूलाई धार्मिक सङ्घसंस्था तथा स्वयंसेवक समूहसँग सहकार्य गर्दै व्यवस्थित रूपमा सञ्चालन गरिने योजना उनले अघि सारेका छन् ।

दीर्घकालीन दृष्टिकोणअन्तर्गत वेद विद्याश्रमको क्षमता विस्तार, निःशुल्क आवासीय शिक्षा, श्री पशुपति सनातन हिन्दु विश्वविद्यालय स्थापना, आयुर्वेद चिकित्सालय सञ्चालन तथा पशु संरक्षणका लागि विशेष पशु चिकित्सालय स्थापना गरिने प्रस्ताव पनि समेटिएको छ । साथै गौशाला विस्तार, वानर, मृग, नन्दी तथा अन्य जीवजन्तुको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

अन्त्यमा हुमागाईँले यदि सक्षम, योग्य तथा राष्ट्रसिवामा समर्पित नेतृत्व कोषमा नआए आफूलाई अवसर दिन आग्रह गर्दै आफ्ना सम्पूर्ण सङ्कल्प र प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)