काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्नका लागि राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।
सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विधि र प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले सरकारको छवि धुमिल भएको बताउनुभएको हो । नेता शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंग उठाउँदै कानूनी राज्यको उपहास भएको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचार र अपराधको अनुसन्धानमा सरकार छनोटपूर्ण बनेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कोही पनि व्यक्तिलाई पक्राउ गर्नुहुन्न भन्ने होइन, तर पक्राउ गर्दा कानुनी आधार र अदालतको पक्राउ पुर्जी अनिवार्य हुनुपर्छ । प्रमाणबिना राति ३ बजे पक्राउ गर्नु र पछि छाड्नु बालहठ मात्र हो । ९ अर्ब रुपैयाँ घोटालाको आरोपी जिबी राई, वाइडबडी काण्ड, ४ जी र एनसेलका दोषीहरू खुला हिँडिरहेका छन् । तर सरकारले व्यक्तिगत प्रतिशोधका लागि मात्र शक्ति प्रयोग गरिरहेको छ । यस्ता हर्कतले हिजोको र आजको सरकारबीच कुनै भिन्नता देखिँदैन । तपाईंहरूले जसरी इगो साट्न पक्राउ गर्ने खेल शुरु गर्नुभएको छ, यसको हिसाव किताव भोलि जनताले माग्छन् ।’
शाहीले सरकारलाई सुशासनको मार्गमा अघि बढ्न सुझाव दिँदै यदि सरकारले भ्रष्टाचार विरुद्ध वास्तविक कदम चाल्ने हो भने आफ्नो दलले साथ दिने प्रतिवद्धता जनाउनु भयो । यद्यपि, राज्यसत्ताको दुरुपयोग जारी रहे जनता सडकमा आउन बाध्य हुने चेतावनी उहाँले दिनुभयो ।
