आइतवार, अशोज ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा


  • माउन्टेन खबर
  • आइतवार, अशोज ११, २०८३
  • 27
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ ।

 

यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रूपमा गर्नुपर्ने भन्दै अड्को थाप्दै आएको सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो ।

देउवा पक्षीय समूह १४ औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । यसरी विशेष महाधिवेशनलाई अवैध ठान्नेसँग सहकार्य गर्नु पनि उचित नहुने भन्दै संस्थापन पटक पटक सहमतिको प्रयास गर्दासमेत असफल भएपछि अगाडि बढेको हो ।

देउवा समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन शुरू हुने बताएका छन् । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्ने र त्यसका लागि ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको जनाएको छ ।

कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने पक्षमा रहेको सो समूहको मागलाई बेवास्ता गर्दै असोज ३ गतेबाट प्रतिनिधि छनोट प्रक्रियामा होमिएको संस्थापन पक्ष अहिले १५औँ महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।

मुद्धा नै विचाराधीन रहेका अवस्थामा देउवा पक्षलाई कुन तत्वले महाधिवेशन गर्न उक्साइरहेको छ भन्ने खुलेको छैन । निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको फैसलाअनुसार गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक हो ।

गगनकै नेतृत्वमा पार्टी प्रतिनिधि सभाको निर्वाचनमा होमिएको थियो । त्यतिबेला देउवा समूहकै नेताहरू विमलेन्द्र निधी, डा प्रकाशशरण महतहरू गगन थापाको हातबाट टिकट लिएर चुनावमा गएका थिए ।

हारपछि भने उनीहरू फेरि देउवा समूहमै सक्रिय रहेर काम गरिरहेका छन् ।

आसन्न महाधिवेशनका क्रममा देउवा समूहद्वारा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको नेता डा महतले जानकारी दिए ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यताको विवरण शनिबार हस्तान्तरण गरेको जानकारी दिए ।

संयोजक पौडेलले यही असोज ९ गतेसम्म वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाइएको र कूल सदस्य सङ्ख्या सात लाख ८३ हजार ८३६ रहेको जानकारी दिए ।

उनले भने, “यसमध्ये पाँच लाख ७३ हजार ३६९ पुरानो सदस्यता नवीकरण र दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता रहेको छ ।”

संयोजक पौडेलले भने, “पहिला पार्टीले महामन्त्री गगन थापालाई यो जिम्मेवारी दिएकोमा समयमै क्रियाशील सदस्यता नटुङ्गिदा समस्या आएको थियो, तर अहिले शेरबहादुर देउवाले मलाई जिम्मेवारी दिएपछि यसलाई समयमै टुङ्गो लगाएर हस्तान्तरण पनि गरिसकेको छु । अब समयमै महाधिवेशन हुन्छ, यसमा कुनै समस्या छैन ।”

यसैगरी देउवा समूहका नेता डा महतले भने, “हामी पार्टीभित्र एकताको महाधिवेशन गर्न चाहन्थ्यौँ, यसका लागि अन्तिमसम्म प्रयास पनि गरेको हौँ र सबै ढोका खुला राखेर कोसिस पनि गरेका हौँ । तर सम्भव नभएपछि आपत्कालीन मोडमा तयारीमा लागेका छौँ ।”

शेरबहादुर देउवालाई भेट्नसम्म नदिएर देउवा पक्षका नेताहरूले गगन थापा र विश्वप्रकाश शर्मालाई घेराबन्दी गरेपछि यो परिस्थिति सिर्जना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)