काठमाडौं – परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप उँचो बनाएको बताउनुभएको छ ।
बुधवार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको सम्बोधनले अन्तर्राष्ट्रिय वृत्तमा व्यापक चासो र सकारात्मक चर्चा पाएको दाबी गर्नुभएको हो । परराष्ट्र मन्त्री खनालका अनुसार प्रधानमन्त्रीको सम्बोधन यो वर्षको संयुक्त राष्ट्र सङ्घीय महासभामा सबैभन्दा बढी हेरिएको र चासो लिइएको भिडियोमध्ये एक बनेको छ । राजनीतिक परिवर्तनपछिको नयाँ परिस्थितिमा युवा प्रधानमन्त्रीले नेपालको प्रतिनिधित्व कसरी गर्छन् भन्ने चासो नेपाल र अन्तर्राष्ट्रिय समुदाय दुवैमा रहेकाले यस पटकको सहभागिता विशेष रहेको उनले उल्लेख गर्नुभयो । नेपालको कूटनीतिक सक्रियताका लागि यो महासभा एक महत्त्वपूर्ण अवसर बनेको मन्त्री खनालको भनाइ छ । प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको मुद्दालाई स्पष्ट र सशक्त रूपमा राख्न सफल भएको र यसले देशको कूटनीतिक छविलाई थप बलियो बनाएको सरकारको ठहर छ ।
उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधनअघि नै नेपालले राजनीतिक परिवर्तनपछि विश्व मञ्चमा आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरमा विशेष चासो थियो । प्रधानमन्त्रीज्यूको सम्बोधनपछि विश्वभरका सञ्चारमाध्यममा त्यसले उल्लेख्य स्थान पाएको र संयुक्त राष्ट्रसङ्घको यस वर्षका सर्वाधिक हेरिएका सम्बोधनमध्ये एक बनेको देखिन्छ । त्यसपछि भएका विभिन्न भेटवार्तामा समेत अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले प्रधानमन्त्रीज्यूको सम्बोधनको प्रशंसा गर्दै उहाँले उठाउनुभएका विषयप्रति ऐक्यबद्धता व्यक्त गरेको पाइएको छ ।’
महासभाको साइड लाइनमा भएका विभिन्न छलफलहरूमा नेपालले उठाएको जलवायु वित्त र न्यायको मुद्दाले निकै महत्त्व पाएको उहाँको भनाइ छ । महासभामा सहभागी भई फर्किने क्रममा परराष्ट्र मन्त्री खनालले नेपालको कूटनीतिले क्षेत्रीय र वैश्विक स्तरमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढ्नु र आकस्मिक विपद्का घटनाहरू निम्तिनुलाई नेपालले आफ्नो राष्ट्रिय सुरक्षा र विकासको मुख्य चुनौतीका रूपमा विश्व मञ्चमा राख्दै आएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार