बिहिबार, अशोज २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रत्ननगर नगरपालिका वडा नम्बर १६ मा २०० वटा धुवाँरहित चुलो वितरण


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २२, २०८३
  • 60
    SHARES

चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १६ मा धुवाँरहित चुलो वितरण कार्यक्रम सम्पन्न भएको छ। सपना भिलेज सोसियल इम्प्याक्ट, रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिका वडा नम्बर १६ को संयुक्त सहकार्यमा स्थानीय बासिन्दालाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो।

 

 

वडावासीबाट धुवाँरहित चुलोको माग आएपछि वडा कार्यालयले सपना भिलेज सोसियल इम्प्याक्ट लाई औपचारिक पत्रमार्फत अनुरोध गरेको थियो। सोही अनुरोधका आधारमा रत्ननगर उद्योग वाणिज्य संघसँग समन्वय गरी पहिलो चरणमा २०० वटा धुवाँरहित चुलो वितरण गरिएको हो। आगामी दिनमा पनि वडावासीको माग र आवश्यकताका आधारमा थप चुलो वितरण गर्दै जाने जनाइएको छ।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले धुवाँरहित चुलो वितरणले वडावासीलाई प्रत्यक्ष सहयोग पुग्नुका साथै वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताउनुभयो। उहाँले परम्परागत चुलोको तुलनामा कम दाउराबाट लामो समयसम्म खाना पकाउन सकिने भएकाले यसले घरायसी खर्च र दाउराको खपत घटाउन सहयोग गर्ने बताउनुभयो। अध्यक्ष गिरीले रत्ननगर उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा विशेषगरी विद्यालय र विद्यार्थीलाई लक्षित गरी सहयोगका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले संस्थाले शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण तथा वातावरण संरक्षणलगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। पछिल्लो समय वातावरण संरक्षण महत्वपूर्ण आवश्यकता भएकाले स्थानीय समुदायमा स्वच्छ खाना पकाउने प्रविधिको पहुँच बढाउने उद्देश्यले धुवाँरहित चुलो वितरण गरिएको उहाँले बताउनुभयो। गिरीले धुवाँरहित चुलोले घरभित्रको धुवाँ कम गर्नुका साथै दाउराको खपत घटाउने र वातावरण संरक्षणमा सहयोग पुर्‍याउने बताउनुभयो। साथै, संस्थाले आगामी दिनमा विद्युतीय इन्डक्सन चुलोलाई समेत प्राथमिकता दिँदै आवश्यकताअनुसार इन्डक्सन चुलो वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले धुवाँरहित चुलोको प्रयोगले घरभित्रको वायु प्रदूषण कम गरी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै वन तथा वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताउँदै रत्ननगर उद्योग वाणिज्य संघ र वडा नम्बर १६ लाई सहकार्यका लागि धन्यवाद दिनुभयो।

कार्यक्रमको समापन गर्दै रत्ननगर नगरपालिका वडा नम्बर १६ का अध्यक्ष हेमराज थापाले वडावासीको आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरेकोमा सपना भिलेज सोसियल इम्प्याक्ट र रत्ननगर उद्योग वाणिज्य संघलाई धन्यवाद व्यक्त गर्नुभयो। धुवाँरहित चुलोले वडावासीको दैनिक जीवनमा सहजता ल्याउनुका साथै वातावरण र स्वास्थ्य संरक्षणमा सहयोग पुग्ने उहाँले बताउनुभयो। आगामी दिनमा पनि वडाको हित र वडावासीको आवश्यकतालाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

चुलो प्राप्त गर्ने एक लाभग्राहीले परम्परागत रूपमा दाउरा प्रयोग गरी खाना पकाउँदा घरभित्र अत्यधिक धुवाँ जम्मा हुने र त्यसले स्वास्थ्यमा समेत असर पार्ने गरेको बताउँदै धुवाँरहित चुलोबाट ठूलो राहत मिल्ने बताउनुभयो। पछिल्लो समय ग्यासको अभाव तथा आपूर्ति समस्याका बेला धुवाँरहित चुलो वितरण गरेर स्थानीय बासिन्दालाई सहयोग गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। उहाँले यस्तो आवश्यक समयमा गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताउँदै सपना भिलेज सोसियल इम्प्याक्ट रत्ननगर उद्योग वाणिज्य संघ तथा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्नुभयो।

धुवाँरहित चुलो वितरण कार्यक्रमले स्थानीय समुदायमा स्वच्छ खाना पकाउने अभ्यास प्रवर्द्धन गर्नुका साथै स्वास्थ्य, वातावरण संरक्षण र दाउरा खपत न्यूनीकरणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)