रसुवा, ३१ असार ।
रसुवामा पहिलो पटक बायोफ्ल्क प्रबिधिबाट माछा पालनका लागि परिक्षण सुरु भएको छ । जिल्लाको उत्तरगया गाउँपालिका ४ मणिगाउँका स्थानिय अमृत लामा र अमित लामा दुई दाजुभाईले जिल्लामा पहिलो पटक बायोफ्ल्क प्रबिधिबाट माछा पालनका लागि परिक्षण सुरु गरेका छन् । करिब ३ लाखको लगानीमा बायोप्mल्क प्रबिधिबाट माछा पालनका लागि परिक्षण सुरु गरिएको अमृत लामाले बताए ।
दुई वटा पोखरी निर्माण गरि त्यसमा तिनहजार माछाको भुरा राखिएको उनको भनाई छ । मत्स्य अनुसन्धान केन्द्र नुवाकोटबाट खरिद गरि ल्याइएको टिलापिया, कमनकार जातका माछाका भुराहरु पोखरीमा राखिएको उनले बताए । ‘पोखरि निर्माण गरि बायोफ्ल्क प्रविधिबाट माछा पालनको परिक्षण सुरु गरेका छौँ, तिन महिना भयो अहिले पोखरीमा माछा हालेको, अहिलेसम्म माछाको आकार बृद्धि राम्रै भएको छ, अब कस्तो हुने हो, सुरुवातमा परिक्षण हुन्छ, राम्रो हुदै गयो भने थप बिस्तार गर्ने योजना छ, उनले भने, ।
करिब १० वर्ष अघि देखि थोरै मात्रामा सामान्य पोखरी निर्माण गरि माछा पालन सुरु गरिएको भएपनि अहिले व्यावसायिक रुपमा आधुनिक शैलिमा सुरु गरेको अमित लामाले बताए । थोरै समयमा धेरै तथा बढी तौलको माछा उत्पादन गर्न सकिने भएकाले यो प्रबिधिको परीक्षण सुरु गरिएको उनले बताए । यो प्रबिधिमा ब्याक्टेरियाको झुण्ड उत्पादन गरि स–सानो ट्यांकमै धेरै माछा उत्पादन गर्न सकिने उनको भनाई छ ।
यो प्रविधिबाट माछा पालन सुरु गर्दा पोखरीमा माछाको भुरा हाल्नु अघि पानीमा ब्याक्टेरिया उत्पादन गर्नुपर्ने हुन्छ । पोखरीमा चौबिसे घण्टा अक्सिजन प्रवाह गर्नुपर्ने हुन्छ भने पानीको आवश्यक मापदण्डसमेत तयार गर्नुपर्ने उनले बताएका छन् ।
बायोफ्ल्क प्रबिधिबाट सुरु गरिएको टिलापिया, कमनकार जातका माछा शाहाकारी माछा हो । यो माछा करिब ५ महिनामा खान सकिने बताइएको छ । पहिलो लटको माछा उत्पादन भएपछि मात्र नतिजा आउने उनले बताए । नेपाल सहित भारतमा बायोफ्ल्क प्रबिधिबाटै किसानहरुले सफल रुपले माछा पालन गरिरहेका छन् । थोरै स्थानमा कम लगानीमैं स्वरोजगार हुन सकिने भएकाले यो प्रबिधि प्रयोग हुन थालेको पाइएको छ ।
बायोफ्ल्क प्रविधिबाट माछा पालन सुरु गर्नुका साथै दुई लामा दाजुभाईले कृषि उपजहरु पनि उत्पादन सुरु गरेका छन् । करिब तिन लाखको लगानीमा ६ रोपनी जग्गामा गोलभेडा खुर्सानी, साग काउली बन्दा लगायतका कृषी बस्तुहरुको उत्पादन सुरु गरेको बताएका छन् ।
त्यसैगरि माछा उत्पादन सुरु भएसँगै हन्टीङ एण्ड ग्यादरिङको अवधारणा अनुसार होमष्टे संचालन गर्ने तयारी भइरहेको समेत लामा दाजुभाईले बताएका छन् ।
