सरकारले जारी लकडाउनलाई झनै कडाइ गरेको छ । अब एक स्थानीय तहबाट अर्को, एउटा जिल्लाबाट अर्को र एउटा प्रदेशबाट अर्को प्रदेशमा अत्यावश्यक कामबाहेक जान नपाइने भएको छ।
त्यसको कार्यान्वयनको लागि सरकारले प्रदेश र स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवं संन्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
सरकारले यहि चैत्र २५ गते सम्म लकडाउन क़ायम राखेको छ ।लकडाउनको समय बढाईने नबढाईने भन्ने सन्दर्भमा आगामी मन्त्री परिषद्को बैठकमा छलफल हुने सरकारका प्रवक्ता अर्थ एवं संन्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । मन्त्रिपरिषदको बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोनाको परिक्षणलाई व्यापक बनाउने निर्णय समेत गरेको छ ।
त्यसैगरी स्वास्थ्यकर्मीहरुको मनोबल वृद्धि गर्नका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिनुको साथै स्वास्थ्य सुरक्षाका उपकरणहरु यथासंभव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । उपचारको क्रममा स्वास्थ्यकर्मी माथि बाधा उत्पन्न गराउने तथा स्वास्थ्यकर्मीको सुरक्षामा आच पुर्याउने काम भए त्यस्ता व्यक्तिलाई कारवाही गरी स्वास्थ्यकर्मीको सुरक्षाको उचित व्यवस्था मिलाउन स्थानीय सरकारलाई भनिएको छ ।
त्यसैगरी, सजायँ निर्धारण गर्ने समितिमा बाहिरका विज्ञ व्यक्ति राख्ने व्यवस्था अनुसार सरकारले रविन्द्र भट्टराई र कुन्साङ लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
अपराध पिडित संरक्षण समितिमा विज्ञ रहने गरी डाक्टर शंकर कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि आजको मन्त्रीपरिषद्ले गरेको छ ।
