नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक रहेको बताएका छन् ।
बिहीबार इमेज टेलिभिजनको अन्तरवार्तामा अध्यक्ष प्रचण्डले विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोनाको सामना गर्न सत्तापक्ष, प्रतिपक्ष लगायत सवै दल सम्मिलित संरचना बनाएर अघि बढ्न सकेमात्र सफल हुने बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले सवैको सहभागीतामा बनाइने त्यस्तो संरचना प्रधानमन्त्रीको नेतृत्वमा बनाउन सकिने भन्दै त्यसबारे प्रधानमन्त्री केपी ओलीसँग पनि आफुले छलफल गर्ने बताए ।‘कोरोनाविरुद्धको लडाईं सरकार वा कोही पनि एक्लैले सामना गर्न सक्दैन । सर्वपक्षीय संरचना बनाएर सवै मिलेर मात्र यसलाई बनाएर मुकाबिला गर्न सकिन्छ भनेर मैले त्य खालको संरचनाको कुरा गरेको हो’, अध्यक्ष प्रचण्डले भने, ‘सरकारले बनाएको संरचना ठीक छ । मुख्य जिम्मेवारी महामारी नियन्त्रण गर्ने सरकारकै हो । तर यो समस्याको समाधान गर्नै सवै शक्ति एक ठाउँमा उभिन जरुरी छ ।’
उनले लकडाउनसँग सम्बन्धित सरकारले गरेका निर्णय, पहल र कदमप्रति सन्तुष्ट भएको भन्दै यसका साथै सवैलाई समेटेर लैजान पनि जरुरी रहेको बताए । उनले हालै सम्पन्न सचिवालय बैठकमा औषधी उपकरण लगायतको खरिद प्रक्रियासँग जोडिएर आएका विषयमा गम्भीर छलफल भएको भन्दैै त्यसबारे प्रधानमन्त्री स्वयंम गम्भीर रहेको आफुले पाएको जानकारी दिए ।
उनले यस्तो महामारीका बेला दुई अध्यक्षबीचको भेटघाट पातलिएकोप्रति अन्य सदस्यहरुले चासो राखेको र त्यसक्रममा आफूले पनि प्रधानमन्त्रीसँग आवश्यकताअनुसार ‘म भेट गर्न तयार छु’ भनेको भन्दै त्यसमा प्रधानमन्त्री पनि सकारात्मक रहेको बताए ।
उनले सरकारकाले गरेका राम्रा नराम्रा कामको आफू पनि भोग्न तयार रहेको भन्दै स्वास्थ्य सामग्री खरिद,नेपालीहरु अलपत्र परेका विषयमा आफु गम्भिर भएर त्यसको समाधानमा लाग्ने बताए । उनले यसवेला राजनीतिक दाउपेच नगरी मिलेर अघि बढ्नुको विकल्प नभएको दोहोर्याए ।