बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु व्दारा सरकारले जारी गरेका अध्यादेश तत्काल खारेज गर्नुपर्ने माग


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १०, २०७७
  • 640
    SHARES

 

संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले सरकारले जारी गरेका अध्यादेश जुनसुकै हालतमा पनि खारेज गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको छलफलमा विपक्षी दलहरुले अध्यादेश खारेज हुनुपर्ने बताएका हुन् । देश संकटसँग जुधिरहेका बेला संविधानको भावना र लोकतान्त्रिक मूल्य मान्यता विपरित ल्याइएका अध्यादेश खारेज हुनुपर्नेमा विपक्षी दलहरु एकमत भएका हुन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यादेश कुसमय र कुनियतले आएको बताउनुभयो । सुशासन, लोकतन्त्रिक तरिकाबाट शासन चलाउने र राज्यमा सबै जनताको पहुँच हुनुपर्ने भएपनि एक व्यक्तिको इसारामा राज्य चलाउने गलत नियतले अध्यादेश आएको उहाँले बताउनुभयो । प्रधानमन्त्री अधिनायकवादको बाटोमा अगाडी बढेको उल्लेख गर्दै उहाँले अहिलेको परिवर्तनलाई उल्ट्याउन अध्यादेश ल्याइएको बताउनुभयो ।

कांग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले संवैधानिक भावना विपरित ल्याइएको अध्यादेशले लोकतान्त्रिक मूल्य मान्यता कमजोर बनाएको बताउनुभयो । अध्यादेश फिर्ता सरकारको एकमात्रै विकल्प भएको उल्लेख गर्दै उहाँले फिर्ता नभए कडा आन्दोलन हुने चेतावनी दिनुभयो । देश लक डाउनमा रहेको बेला संसदलाई छलेर अध्यादेश ल्याउने कुरा कुनै पनि हालतमा मान्य नहुने उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यादेश तत्काल फिर्ता गर्न आग्रह गर्नुभयो । आफ्नै पार्टी भित्र समेत कुनै छलफल नगरी अध्यादेश ल्याउनु प्रधानमन्त्रीको एक तन्त्रिय कदम भएको उल्लेख गर्दै उहाँले तत्काल संसद बैठक बोलाएर यसलाई अस्वीकृत गर्नुपर्ने बताउनुभयो । सरकारले अध्यादेश फिर्ता गर्न तयार नभए जनता आन्दोलनका लागि तयार हुनुपर्ने उहाँको भनाई छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक प्रणालीमा प्रहार गर्ने, दलहरुलाई अस्थिर बनाउने र मुलुकलाई अस्थिरता तर्फ लैजाने उद्देश्यले अध्यादेश आएको बताउनुभयो ।

संवैधानिक निकायलाई कब्जा गरी लोकतन्त्रलाई दुर्घटनामा पार्ने र मुलुकलाई बर्बाद गरी सर्वसत्तावाद लाद्नका लागि अध्यादेश आएको यादवको भनाई छ । अध्यक्ष यादवले फलानो पार्टीलाई फुटाउन अध्यादेश ल्याइएको हो भनेर अभिव्यक्ति दिनु अपराध भएको समेत बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी राजापा नेपाका अध्यक्ष मण्डलका संयोजक सरदसिंह भण्डारीले मुलुकलाई सर्वसत्तावाद र निरङ्कुसतावाद तर्फ लैजाने सुनियोजित किसिमले अध्यादेश आएको बताउनुभयो । मुलुक कोरोनासँग लडिरेहका बेला प्रतिपक्षी दलले समेत सरकारलाई सहयोग गरिरहेको स्मरण गर्दै उहाँले विधेयक आउनु व्यक्ति विशेषलाई सुनियोजित ढंगले शक्तिशालि बनाउने परिपाटी निर्माणको संकेत भएको बताउनुभयो । सामाजिक दुरी कायम गरेर भएपनि संसद बैठक सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सिंगो संसार कोरोनासँग जुधिरहेका बेला नेपाल पनि कोरोनासँग जुध्नु बाहेक अरु विकल्प नभएको धारणा राख्नुभएको छ । बैठकमा सभापति देउवाले निर्वाचनमा आफुले भनेको कुरा (कम्युनिष्ट पार्टीको सरकार आएपछि जनताले बोल्न समेत पाउँने छैनन्) अहिले सत्य भएको धारणा समेत राख्नुभएको प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारको निर्णय अलोकतान्त्रिक, अव्यवहारिक र अहिलेको अवस्थामा लगत कदम भएको धारणा राख्नुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । यस्तै राष्ट्रि प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले विना कारण ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने धारणा राख्नुभएको प्रवक्ता शर्माले बताउनुभयो । प्रवक्ता शर्माका अनुसार राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी पारिवारिक समस्याका कारण बैठकमा उपस्थित हुनुभएन् यद्यपी बैठकले गर्ने निर्णयमा आफ्नो समर्थन रहेको र सरकारी कदम गलत भएको धारणा राख्नुभएको छ ।

बैठक सामाजिक दुरी कायम गर्दै सञ्चालन भएको थियो । बैठकमा सहभागि नेताहरुले आफ्नो धारणा राखिसकेपछि अर्को नेतालाई हस्तान्तरण गर्नुभन्दा पहिले माइक्रोफोनमा सेनिटाइजर प्रयोग गरिएको उहाँले बताउनुभयो । सरकारले सोमबार राजनीतिक दलसम्बन्धि (दोस्रो संशोधनं अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन अध्यक्षदेश २०७७ जारी गरेपछि चौतफी विरोध भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)