नयाँ दिल्ली। भारतमा वितेको २४ घन्टामा झण्डै ७० हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित थपिएका छन् । विश्वमा एकै दिनमा सबैभन्दा बढी संक्रमित हुने मुलुक भारत रहेको छ ।
भारतमा पनि यो अहिलेसम्मकै उच्च दैनिक संक्रमण हो । विश्वका कोरोनाबाट बढी प्रभावित मुलुक अमेरिका र ब्राजिलमा संक्रमण दर घटिरहेका बेला भारतमा भने लगातार रुपमा संक्रमित हुनेको संख्या बढिरहेको छ ।
भारतमा दैनिक मृत्युदर पनि १ हजारको हाराहारीमा रहेको छ । भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५४ हजारको मृत्यु भएको छ भने २८ लाख ३५ हजारभन्दा बढी संक्रमित छन् । यसै गरी अमेरिकामा पछिल्लो २४ घन्टामा ४० हजार बढी नयाँ संक्रमित थपिएका छन् । यसै गरी अर्को प्रभावित मुलुक ब्राजिलमा एकै दिनमा ४८ हजारभन्दा बढी नयाँ संक्रमित थपिए ।
दुबै मुलुकको दैनिक मृत्यु दर ११ सयभन्दा बढी छ । दक्षिण अफ्रिका, मेक्सिको, पेरु र कोलम्बियामा ५ लाखभन्दा बढी संक्रमित पुगिसकेका छन् ।
कोरोना विरुद्ध खोप बनाइरसकेको रुसमा हालसम्म ९ लाखभन्दा बढी संक्रमित रहेका छन् । विश्वमा हालसम्म कोरोना संक्रमणका कारण २ करोड २५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ७ लाख ९० हजारको हाराहारीमा पुगेको छ ।
