आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य हुनुपर्छः प्रहरी महानिरीक्षक कार्की


  • माउन्टेन खबर
  • आइतवार, भदौ २८, २०८३
  • 33
    SHARES

काठमाडौँ  – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सिसिटिभीलगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।

 

 

 

ट्राफिक प्रहरीलाई सवारीसाधनको बिचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ । आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै कार्कीले एआई–सक्षम सिसिटिभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । उहाँले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्कीले राजधानीको बढ्दो जनसङ्ख्या, सहरीकरण र सवारी चापसँगै सार्वजनिक स्थानको व्यवस्थापन, फोहोर मैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनमा पनि स्थानीय तह र नेपाल प्रहरीबिच सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले फोहोर मैला व्यवस्थापनमा उत्पादन स्थलदेखि अन्तिम व्यवस्थापन स्थलसम्मै चुनौती रहेकाले भविष्यमा यसको प्रभावकारी उपाय खोज्नुपर्ने बताउनु भयो ।

नेपाल प्रहरी र स्थानीय तहबिच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै कार्कीले ७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग समन्वय गर्न पत्राचार भइरहेको बताउनु भयो ।

स्थानीय तहले आवश्यकताअनुसार नेपाल प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन र विपद् उद्धार सामग्री उपलब्ध गराउने तथा सिसिटिभी जडान र विस्तारमा सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो । यस्ता सहकार्यले प्रहरी सेवा र महानगर प्रहरी सेवालाई थप प्रभावकारी रूपमा जोड्ने उहाँको भनाइ छ । कार्कीले नागरिकलाई सफा सडकमा हिँड्न पाउने र फुटपाथ अवरोधमुक्त रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न महानगरले गरिरहेको कामको प्रशंसा गर्नुभयो । राजधानीको सहरी व्यवस्थापनमा महानगरपालिकाको कार्यसम्पादनले समग्र सहरी व्यवस्थापनको स्तरसमेत झल्काउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग भौतिक संरचना निर्माणलगायतका विषयमा सहयोग र समन्वय गर्न पत्राचार भइरहेको छ । यसै सन्दर्भमा हामीले पनि सुरक्षा संरचनालाई प्राथमिकता दिँदै सुरक्षाकर्मीको आवास, यातायात तथा आवश्यक स्रोत–साधनको व्यवस्थापनमा थप ध्यान दिन आवश्यक छ । 

स्थानीय तहहरूले नेपाल प्रहरीलाई आवश्यकताअनुसार जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण र मर्मतमा सहयोग गर्ने, सवारी साधन तथा विपद् उद्धार सामग्री उपलब्ध गराउने, सिसिटिभी जडान तथा विस्तार गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेजस्ता कामले सुरक्षा सेवालाई थप प्रभावकारी बनाउँछ । यसबाट प्रहरी, महानगर प्रहरी र नागरिकबिचको समन्वय पनि अझ सुदृढ हुनेछ । 

बढ्दो जनसङ्ख्या, सहरीकरण, सवारी चाप, सार्वजनिक स्थान व्यवस्थापन, फोहोर मैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनजस्ता विषयमा महानगरपालिकाको कार्यसम्पादनले राजधानीको सहरी व्यवस्थापनको स्तर झल्काउँछ । अहिले पहिलेको जस्तो असरल्ल फोहोरको थुप्रो देख्न नपर्ने र सफा सडकमा हिँड्न पाउने अवस्था बनेको छ । स्वच्छ र अवरोधरहित सार्वजनिक स्थानमा हिँड्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बिचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ । एआई–इनेबल्ड सिसिटिभी, व्यवस्थित बस स्टप, बस पार्क, पार्किङ स्टेसन तथा वैज्ञानिक पार्किङ व्यवस्थापनमा जोड दिन आवश्यक छ । त्यसै गरी, समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन र इमर्जेन्सी रेस्पोन्स सिस्टमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ । आगामी दिनमा महानगरपालिका र सुरक्षा निकायबिच थप योजना र सहकार्यका साथ अघि बढ्ने वातावरण निर्माण हुने अपेक्षा राख्दछु । ’


आगामी दिनमा महानगर र नेपाल प्रहरीले थप योजनाका साथ संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिँदै कार्कीले ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन र आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री तथा व्यवस्थित बनाउन सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)