बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारणको निर्माण सुरु, ९० दिनलाई पुग्ने इन्धन सञ्चित हुने


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २८, २०७७
  • 673
    SHARES

काठमाडौं । सबै प्रदेशमा कम्तीमा ९० दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने सरकारको नीतिअनुसार नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा नेपालकै दोस्रो ठूलो भण्डारण गृह निर्माणको काम शुरु गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको प्रादेशिक कार्यालय परिसरमा अमलेखगञ्जपछिको दोस्रो ठूलो भण्डारण गृहको विहिवार शिलान्यास गरे।

सरकारले लिएको पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिको लक्ष्यलाई पूरा गर्न निगमले गण्डकी प्रादेशिक कार्यालयबाट भण्डारण क्षमता विस्तारको शुरुआत गरेको हो । निगमको गण्डकी प्रदेशअन्तर्गत आफ्नै स्वामित्वको जग्गामा १ करोड़ लिटर क्षमताको अत्याधुनिक डिपोको निर्माण शुरु गरिएको छ ।

ठेक्का प्रक्रिया टुङ्गिएको र साइट क्लियरिङ समेत भइसकेकाले डिपो निर्माणले तीव्रता पाउने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । ७७ करोड ७७ लाख रुपैयाँ लगानीमा समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले परियोजना निर्माणको ठेक्का लिएको छ ।

“हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाको रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि शुरु गरेका हौँ”, उनले भने, “यो शुरुआत्लाई हामीले १९ वर्षपछिको निरन्तरताको रुपमा समेत हेरेका छौँ ।” २०५८ सालपछि निगमले भण्डारण क्षमता विस्तार गर्न सकेको थिएन ।

यो योजना २०५८ सालपछि निगमको आफ्नै लगानीमा भएको पहिलो योजना समेत हो । गण्डकी प्रादेशिक डिपोको भण्डारण अमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुङ्गा सावित हुने कार्यकारी निर्देशक पौडेलको विश्वास छ । निगमले चितवनको लोथरमा बन्ने ब्लक भण्डारण गृहको सप्लाइ चेनको रुपमा समेत यो डिपोलाई लिएको छ ।

उनले प्रदेशको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कनै कारणले अबरोध भए प्रदेशमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्ने र नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा ३० दिनको डिजेल र १२ दिनको पेट्रोलको माग धान्ने प्रक्षेपण गरिएको बताए । गगनगौँडाको ७७ रोपनी जमिनलाई नै व्यवस्थापन गरेर डिपो निर्माण गर्न लागेकाले यसले निगमको रु दुई अर्ब खर्च बचत भएको उनको भनाइ छ ।

अहिलेको डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । भण्डारण गृहको निर्माणका लागि सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ । परियोजनाअन्तर्गत हालको डिपो हातामा ५० लाख लिटर क्षमताका दुईवटा ठूला डिजेल भण्डारण टयाङ्क, एउटा नयाँ पहुँच सड़क, २ लाख लिटर क्षमताको पानी भण्डारण टयाङ्क, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि पनि नयाँ संरचना निर्माण गरिनेछ ।

इन्धन भण्डारण ट्याङ्क र यसमा जडान हुने संरचना जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटेड हुने निगमका कार्यकारी निर्देशक पौडेलले बताए । डिजेल लोड तथा अनलोड सुविधा पूर्णरूपमा स्वचालित र हाइटेक आधारित हुनेछन् । डिपोको भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि र सावधानीको कार्य पनि परियोजनाकै सिलसिलामा तयार गरिने छ ।

नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याङ्करले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । ट्याङ्कर अनलोडका लागि प्रतिघण्टा १२० किलोलिटर क्षमताका पाँचवटा पम्प जडान गरिनेछ । चारवटा नयाँ ‘वे’ पनि सञ्चालन हुनेछन् । भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागीलगायतको दुर्घटना पहिचान गर्न विशेष प्रविधि डिपोमा जडान हुनेछ ।

आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकीकृत रिमोट कन्ट्रोल प्रविधि डिपोमा हुनेछ । कुनै पनि कारणबाट डिपोमा आगो लागेको खण्डमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रण गर्ने क्षमताको पूर्वाधार डिपोमा हुनेछ । ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण त्यसका लागि प्रयोग हुने निगमले जनाएको छ ।

परियोजना सम्पन्न भएपछि काठमाडौँको ‘ब्याकअप’को रुपमा पनि पोखरा डिपोले काम गर्नेछ भने गण्डकी प्रदेशमा पेट्रोलियम वितरणको संरचनासमेत ठूलो सुधार अपेक्षा गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । परियोजना निर्माणमा भोलिदेखि दैनिक १५० कामदार खटिने पनि उहाँले जानकारी दिए।

सो अवसरमा उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग पनि जोडिएकाले इन्धनको भण्डारण क्षमता विस्तारमा सरकारले जोड दिएको बताउनुभयो । भण्डारण क्षमता विस्तार भएसँगै गण्डकी प्रदेश र यसआसपासका प्रदेशमा पेट्रोलियम आपूर्तिमा सहयोग पुग्ने उनको भनाइ छ ।सातवटै प्रदेशमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तार गर्न लागिएको उनले बताए । “

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }